काठमाडौँ । रसुवामा बुधबार बिहान आएको भीषण बाढीका कारण विभिन्न जिल्लामा कम्तीमा १७ जनाको शव फेला परेको नेपाल प्रहरीले पुष्टि गरेको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी अबिनारायण काफ्लेका अनुसार रसुवामा १ जना पुरुष, नुवाकोटमा ३ महिला र ४ पुरुष, धादिङमा ३ महिला र २ पुरुष तथा गोरखामा १ जना पुरुषको शव फेला परेको हो।
बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको छ। प्रभावित क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरी उद्धार तथा खोजी कार्य जारी राखिएको प्रहरीले जनाएको छ।
बाढीका कारण सडक, पुल तथा सञ्चार र विद्युत् सेवासमेत प्रभावित भएका छन्। घटनामा थप मानवीय क्षति भएको हुन सक्ने भएकाले बेपत्ताको खोजी तथा क्षतिको विवरण संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।


