काठमाडौँ । नेकपा (एमाले) को निर्वाचन समीक्षा र पार्टी पुनर्गठन कार्यदलले पार्टीलाई नयाँ जीवन दिन आगामी असोज महिनामा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक बोलाउन सुझाव दिएको छ ।
प्रतिवेदनको अन्तिम निष्कर्षका रूपमा कार्यदलले यो बैठकलाई पार्टीको नीति र विधि परिवर्तन गर्ने मुख्य थलो बनाउन प्रस्ताव गरेको हो ।
प्रतिवेदनको पृष्ठ ६५ मा उल्लेख भए अनुसार पार्टी र सरकारको कामको गम्भीर समीक्षा गर्न तथा पुनर्गठनको कार्ययोजना कार्यान्वयनका लागि असोजमा प्रतिनिधि परिषद्को बैठक आयोजना गर्नुपर्नेछ ।
कार्यदलले उक्त बैठक सम्पन्न भए लगत्तै त्यसलाई विधान महाधिवेशन मा रूपान्तरण गर्न र आवश्यक विधान संशोधन गर्न सुझाव दिएको छ ।
कार्यदलले निर्वाचनमा बेहोरेको हारले पार्टी जीवनमा गम्भीर धक्का लागेको ठहर गर्दै यथास्थितिमा पार्टी अघि बढ्न नसक्ने स्पष्ट पारेको छ । प्रतिवेदनमा भनिएको छ, ‘राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकबाट पार्टी पुनर्गठनको कार्ययोजना पारित गरी नयाँ योजना र संकल्पका साथ अघि बढ्नुपर्छ ।’
पार्टीभित्र देखिएको गुटबन्दी, अनुशासनहीनता र स्वेच्छाचारी कार्यशैलीलाई अन्त्य गर्न विधानमै हेरफेर आवश्यक भएकाले विधान महाधिवेशनको प्रस्ताव गरिएको हो ।
विधान महाधिवेशनमार्फत कार्यदलले पार्टी जीवनलाई लोकतान्त्रिक बनाउन उमेर हद र कार्यकालसम्बन्धी व्यवस्थालाई पुनःस्थापना गर्न खोजेको छ ।
यसअघि हटाइएका यी प्रावधानहरूलाई विधान महाधिवेशनबाट पुनः पारित गराएर नयाँ पुस्तालाई नेतृत्वमा ल्याउने बाटो खोल्ने कार्यदलको सोच हो ।
निर्वाचनमा हार बेहोरे पनि एमालेले प्राप्त गरेको झण्डै १४ लाख मतलाई कार्यदलले पुनर्जागरणको महत्वपूर्ण आधार मानेको छ ।
यही जनमतलाई थामिराख्न र थप विस्तार गर्नका लागि पार्टीको वैचारिक, राजनीतिक र सांगठनिक सर्जरी अनिवार्य रहेको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनको अन्तिम निष्कर्षमा भनिएको छ कि मुलुकमा बढ्दो पपुलिजम (लोकप्रियतावाद), अराजकता र वैदेशिक शक्तिहरूको चलखेललाई रोक्न एमाले बलियो हुनु आवश्यक छ ।
‘पुनर्गठित एमालेको नेतृत्वमा मात्र नेपाल राष्ट्रलाई सही दिशामा फर्काउन र जनताको बहुदलीय जनवाद (जबज) को मार्गदर्शनमा समृद्ध नेपाल बनाउन सम्भव हुनेछ’ प्रतिवेदनमा दाबी गरिएको छ ।-0-


