मलेसियाको पाटा ट्राभल मार्टमा नेपालको पर्यटन प्रवर्द्धन
काठमाडौं । मलेसियामा आयोजित ‘पाटा ट्राभल मार्ट २०२६’ मा नेपालको पर्यटकीय उत्पादन तथा गन्तव्यको प्रवर्द्धन गरिएको छ।
१८ देखि २० अगस्टसम्म मलेसियाको सारावाकस्थित कुचिङमा रहेको बोर्नियो कन्भेन्सन सेन्टरमा आयोजित एसिया–प्रशान्त क्षेत्रकै प्रमुख अन्तर्राष्ट्रिय बीटुबी ट्राभल ट्रेड कार्यक्रममा नेपालसहित ४८ देश तथा गन्तव्यका १ हजार १ सयभन्दा बढी पर्यटन प्रतिनिधि सहभागी भएका थिए।
मार्टमा २९ स्रोत बजारका २ सय १५ कम्पनीको प्रतिनिधित्व गर्ने २ सय २१ खरिदकर्ता तथा २ सयभन्दा बढी संस्था र गन्तव्यको प्रतिनिधित्व गर्ने ३ सय ६५ भन्दा बढी विक्रेता सहभागी थिए। मुख्य दुई दिनमा खरिदकर्ता र विक्रेताबीच ४ हजारभन्दा बढी निर्धारित व्यावसायिक भेटघाट भएका थिए।
नेपाल पभेलियनमार्फत पर्वतारोहण, ट्रेकिङ, अभियान, अध्यात्म, वेलनेस, लक्जरी ट्राभल, सामुदायिक पर्यटनलगायत नेपाली पर्यटनका विविध उत्पादन तथा आकर्षण प्रदर्शन गरिएको पाटा नेपालले जनाएको छ।
मार्टमा हिमालयन होलिडेज नेपाल, एक्सपिडिसन हिमालया डटकम, डेस्टिनागो टुर्स एन्ड ट्राभल्स, रोयल माउन्टेन ट्राभल, तेन्जिङ हिलारी एभरेस्ट म्याराथन, अफ द वाल ट्रेकिङ, माउन्टेन डिलाइट ट्रेक्स एन्ड एक्सपिडिसन्स, माउन्टेन टाइगर नेपाल र मिसन नेपाल होलिडेजलगायत नेपाली पर्यटन व्यवसायी सहभागी थिए।
सन् २०२७ लाई नेपालमा ‘वेलनेस वर्ष’का रूपमा मनाउने तयारी भइरहेका बेला नेपाली व्यवसायीले वेलनेस सेवासहित समग्र पर्यटन गन्तव्यको प्रवर्द्धन गरेका छन्। साथै, पाटा नेपाल च्याप्टरले आगामी जुन १ देखि ४ सम्म काठमाडौंमा आयोजना गर्ने ‘हिमालयन ट्राभल मार्ट’को सातौँ संस्करणको समेत अन्तर्राष्ट्रिय प्रवर्द्धन गरिएको छ।
पाटा नेपाल च्याप्टरका निवर्तमान अध्यक्ष विभूतिचन्द ठाकुरले पाटा ट्राभल मार्ट नेपाली पर्यटन व्यवसायीका लागि निकै फलदायी बनेको बताए। पाटा नेपाल च्याप्टरले विश्वभरका पाटा च्याप्टरमध्ये पुनः ‘अवार्ड अफ एक्सिलेन्स’ प्राप्त गर्नु थप गौरवको विषय भएको उनको भनाइ छ।
अर्को वर्षको पाटा ट्राभल मार्ट मकाउमा आयोजना हुने तय भएको छ।


