चितवन । डिभिजन वन कार्यालय, चितवनले गत आर्थिक वर्षमा जनधन तथा भौतिक संरचनाको सुरक्षालाई ध्यानमा राख्दै जिल्लाका विभिन्न स्थानमा रहेका १५५ वटा जोखिमयुक्त रुख व्यवस्थापन गरेको छ ।
कार्यालयका अनुसार जिल्लाका १३ प्रमुख स्थान, सडकखण्ड, सुरक्षा निकायका परिसर तथा विद्युत् प्रसारण लाइन आसपासका क्षेत्रबाट जोखिमयुक्त रुख हटाइएको हो । रुख व्यवस्थापनका क्रममा एक हजार ५७५ थान काठका गोलिया तथा ठुटा, ११ हजार ८०९ दशमलव ६२ क्युफिट काठ र १६ दशमलव ४५ चट्टा दाउरा सङ्कलन भएको छ ।
वन अधिकृत दिनेश हुमागाईंका अनुसार भरतपुरको आपटारी–देवघाट सडकखण्डबाट सबैभन्दा धेरै २५ वटा रुख हटाइएको थियो । त्यहाँबाट ३०६ थान काठ, दुई हजार ४६० दशमलव २३ क्युफिट काठ तथा पाँच दशमलव ७५ चट्टा दाउरा सङ्कलन भएको छ ।
भोजाड–लङ्कालाइन–पदमपुर क्षेत्रबाट ३४ वटा रुख हटाई ३२१ थान, दुई हजार १९७ दशमलव ५० क्युफिट काठ र तीन दशमलव १० चट्टा दाउरा व्यवस्थापन गरिएको छ । त्यस्तै, सशस्त्र प्रहरी बल आँपटारी परिसरबाट नौ वटा रुख हटाउँदा १४१ थान, एक हजार १३६ दशमलव ४९ क्युफिट काठ र एक दशमलव २५ चट्टा दाउरा सङ्कलन भएको छ ।
डिभिजन वन कार्यालय परिसरबाट २१ वटा रुख हटाई १६७ थान, एक हजार १४१ दशमलव ०९ क्युफिट काठ र दुई चट्टा दाउरा प्राप्त भएको छ । रामपुर–चानौली सडकखण्डबाट २६ वटा रुख हटाउँदा १८० थान, ८१९ दशमलव ४९ क्युफिट काठ र एक दशमलव २५ चट्टा दाउरा व्यवस्थापन गरिएको कार्यालयले जनाएको छ ।
मस्र्याङ्दी–करिडोर २२० केभी प्रसारण लाइन क्षेत्रबाट १६ वटा रुख हटाई २३३ थान, एक हजार ४९१ दशमलव ४० क्युफिट काठ र एक दशमलव ७५ चट्टा दाउरा सङ्कलन गरिएको छ ।
त्यसैगरी जोखिमयुक्त क्याम्पाबाट चार, ट्राफिक प्रहरी कार्यालयबाट दुई, सुगम टोलबाट तीन, लामाटोल–कमिनीघाट–पदमपुर क्षेत्रबाट आठ, नेपाल प्रहरी शिक्षालयबाट दुई, राजमार्ग ट्राफिक सुरक्षाका लागि एक र खगेरी नहर क्षेत्रबाट चार वटा रुख हटाइएको कार्यालयले जनाएको छ ।
वन अधिकृत हुमागाईंले जनधनको क्षति न्यूनीकरण तथा सडक र विद्युत् पूर्वाधारको सुरक्षालाई ध्यानमा राखेर जोखिमयुक्त रुख व्यवस्थापनलाई प्राथमिकताका साथ अघि बढाइएको बताउनुभयो । हटाइएका रुखबाट प्राप्त काठ तथा दाउरा लिलामीका लागि सूचना प्रकाशित भइसकेको र बोलपत्र आह्वान प्रक्रिया अघि बढिरहेको उहाँले जानकारी दिनुभयो ।
जिल्लाका अन्य स्थानमा समेत जोखिमयुक्त रुख रहेको र विभिन्न स्थानबाट त्यस्ता रुख व्यवस्थापनका लागि माग आउने गरेको कार्यालयले जनाएको छ । प्राप्त मागका आधारमा जोखिमयुक्त रुखको तथ्याङ्क सङ्कलन तथा अध्ययन भइरहेको हुमागाईंले बताउनुभयो ।
अध्ययन तथा आवश्यक प्रक्रिया पूरा गरी आगामी असोजदेखि जिल्लाका विभिन्न स्थानमा जोखिमयुक्त रुख कटान तथा व्यवस्थापनको काम अघि बढाइने उहाँले जानकारी दिनुभयो ।


