चितवन । आर्थिक अभाव, भौगोलिक विकटता तथा नाता सम्बन्ध प्रमाणित गर्नुपर्ने झमेलाका कारण नागरिकता बनाउनबाट वञ्चित राप्ती नगरपालिकाका चार वटा वडाका बासिन्दालाई अब बस्तीमै पुगेर नागरिकता वितरण गरिने भएको छ ।
राप्ती नगरपालिका–१०, ११, १२ र १३ का स्थानीय बासिन्दालाई लक्षित गरी बस्तीमै शिविर सञ्चालन गरेर नागरिकता प्रदान गर्ने निर्णय भएको हो । प्रमुख जिल्ला अधिकारी गणेश अर्याल र राप्ती नगरपालिका–४ निवासी समाजसेवी दीपक गौतमसहित युवाहरूबीच भएको छलफलपछि यस्तो सहमति भएको हो ।
चार वटा वडामा अझै करिब एक हजार जना नागरिकता प्राप्त गर्नबाट वञ्चित रहेको समाजसेवी गौतमले जानकारी दिए । उनका अनुसार भौगोलिक विकटता, आर्थिक अवस्था कमजोर हुनु तथा नाता सम्बन्ध प्रमाणित गर्नुपर्ने प्रक्रियागत झमेलाका कारण विशेषगरी सीमान्तकृत चेपाङ समुदायसहित अन्य समुदायका नागरिक नागरिकता बनाउनबाट वञ्चित हुँदै आएका छन् ।
सहमतिअनुसार पहिलो चरणमा एक साताभित्र नागरिकता बनाउन बाँकी रहेका नागरिकको विवरण संकलन गरिनेछ । त्यसपछि करिब १५ दिनभित्र सम्बन्धित बस्तीमै शिविर सञ्चालन गरी प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा नागरिकता वितरण गर्ने तयारी गरिएको गौतमले बताए ।
नागरिकता बनाउन सदरमुकामसम्म पुग्नुपर्ने बाध्यताका कारण विकट क्षेत्रका धेरै नागरिक राज्यबाट प्राप्त हुने आधारभूत सेवाबाट समेत वञ्चित हुँदै आएका छन् । बस्तीमै पुगेर नागरिकता वितरण गर्ने अभियानले त्यस्ता नागरिकलाई सहज रूपमा सरकारी सेवा प्राप्त गर्ने वातावरण बनाउने अपेक्षा गरिएको छ ।
‘भौगोलिक रूपमा विकट क्षेत्रका नागरिकले नागरिकता बनाउन सदरमुकामसम्म धाउनुपर्ने बाध्यताको अन्त्य गर्दै राज्यको सेवा नागरिकको घरदैलोमै पुर्याउने प्रयास हो,’ गौतमले भने ।
स्थानीय तह, प्रशासन र युवाहरूको समन्वयमा सञ्चालन हुने शिविरबाट नागरिकता बनाउन बाँकी रहेका नागरिकको पहिचान गरी आवश्यक प्रक्रिया पूरा गरिने जनाइएको छ । यसबाट लामो समयदेखि नागरिकताको प्रमाणपत्र प्राप्त गर्न नसकेका नागरिकलाई ठूलो राहत पुग्ने विश्वास गरिएको छ ।


