चितवन । आठ जना मानिसको ज्यान लिइसकेको जङ्गली हात्ती गोविन्देले त्रास फैलाएको छ । सौराहाको खोरसोरमा आएको ‘गोविन्दे’ ले मानव बस्तीमा समेत त्रास फैलाएको छ ।
गोविन्दे भाले हात्ती हो । ढोइ (पोथी हात्ती) को खोजीमा सौराहाको खोरसोर छिरेको छ । दुई सातादेखि गोविन्देले त्रास फैलाएको हात्तीसारका प्रमुख मणिपुरण चौधरीले बताए । सौराहाको खोरसोर हात्ती प्रजनन केन्द्र वरपर त्रास फैलिएको उनी बताउँछन् ।
भाले तथा वयस्क हात्तीलाई मत्ता र पोथी हात्तीलाई ढोइ भनिन्छ । हात्ती चराउन जङ्गल लगेपछि गोविन्दे अरु हात्तीसँग जाने र जङ्गलबाट फर्किएपछि प्रजननका लागि पोथी हात्ती कुरेर बस्ने गरेको छ ।
गोविन्देका कारण हात्ती र छावालाई राम्रोसँग चर्न र हिँडडूल गर्नसमेत अवरोध भएको छ । आठ जनाको ज्यान लिएको गोविन्देले यसअघि दुधौरा पोष्टमा कार्यरत नेपाली सेनालाई आक्रमण गरेको थियो । मात लागेको हात्ती सधैँ ढोइ कुरेर बस्छ । खोरसोरमा नौ वटा माउ र सात वटा छावा रहेका छन् । यहाँ जङ्गली हात्ती प्रजनन्को लागि पालैपालो आउने गरेका छन् । खोरसोरका हात्तीलाई जङ्गली हात्तीबाट प्रजनन् गराइन्छ । खोरसोरमा मकुना हात्ती मरेपछि अरु हात्ती पालैपालो आउने गरेका छन् ।रासस


