दैनिक १५ जनाले १–१ लाख रुपैयाँ जित्ने

करदाता प्रोत्साहन उपहार कार्यक्रम आजदेखि, एक जनाले १० लाख

काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालनका लागि आवश्यक सम्पूर्ण प्राविधिक तयारी पूरा गरेको जनाएको छ। विभागले शुक्रबार पहिलो पटक करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत विजेताको घोषणा गर्ने भएको छ।

बिहीबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष विभागका प्राविधिकहरूले उपहार छनोट विधि र प्रणालीको नमुना प्रस्तुतीकरण गरेका थिए। विभागका महानिर्देशक तथा सहसचिव डा. भीष्मकुमार भुसालका अनुसार साउन १ गतेदेखि १५ गतेसम्म वस्तु तथा सेवा खरिद गरेका उपभोक्तामध्येबाट पहिलो उपहार घोषणा गरिनेछ।

विभागका अनुसार उक्त अवधिमा अनलाइनमार्फत वस्तु तथा सेवा खरिद गरेका तथा नगदमा खरिद गरी प्यान वा भ्याट बिल विभागको वेबसाइटमा अपलोड गरेका उपभोक्ताहरू उपहार कार्यक्रममा सहभागी हुनेछन्।

कार्यक्रमअन्तर्गत साउन १ देखि १५ गतेसम्मको प्रत्येक दिनको कारोबारका आधारमा १५ जना उपभोक्ताले करकट्टीपछि जनही १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। साथै, सोही अवधिमा खरिद गरेका सबै योग्य उपभोक्तामध्ये एक जनाले १० लाख रुपैयाँको बम्पर नगद पुरस्कार जित्नेछन्। बम्पर पुरस्कारमा भने प्रचलित कानुनअनुसार कर लाग्ने विभागले जनाएको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत करदातालाई प्रोत्साहन गर्न यस्तो उपहार कार्यक्रम सञ्चालन गर्ने घोषणा गर्नुभएको थियो।

करदाता प्रोत्साहन कार्यक्रम सञ्चालन कार्यविधिअनुसार अब प्रत्येक महिनाको १६ गते (१–१५ गतेसम्मको कारोबार) र महिनाको अन्तिम दिन (१६ गतेदेखि महिनाभरिको बाँकी कारोबार) उपहार घोषणा गरिने व्यवस्था गरिएको छ।

बैंक तथा डिजिटल वालेटको क्यूआरमार्फत भुक्तानी गरी वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ता स्वतः कार्यक्रममा सहभागी हुनेछन्। तर पुरस्कार प्राप्त गर्न खरिदको बिल अनिवार्य रूपमा सुरक्षित राख्नुपर्नेछ।

नगदमा खरिद गर्ने उपभोक्ताले भने प्यान वा भ्याट बिल अनिवार्य रूपमा मागी आन्तरिक राजस्व विभागको वेबसाइटमा अपलोड गरेर सहभागी कुपन लिनुपर्ने व्यवस्था गरिएको विभागले जनाएको छ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

थप समाचारहरू

ताजा समाचार