चितवन, साउन २१ — बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले ‘बोनम्यारो’ (रक्तमासी) प्रत्यारोपण सेवा सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार तथा चिकित्सकीय तयारीलाई तीव्रता दिएको छ। चीन सरकारको सहयोगमा भवन निर्माण, अत्याधुनिक उपकरण जडान तथा चिकित्सक र नर्सलाई तालिम प्रदान गर्ने गरी परियोजना अघि बढाइएको अस्पतालले जनाएको छ।
अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. उमेश नेपालका अनुसार केही दिनअघि चिनियाँ प्राविधिक टोली दुई सातासम्म अस्पतालमा बसेर आवश्यक पूर्वाधारको अध्ययन तथा छलफल गरेको थियो। टोलीले भरतपुर महानगरपालिका, सहरी विकास तथा भवन निर्माण आयोजना र नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्राविधिकसँग समेत समन्वय गरी आवश्यक सुझाव संकलन गरेको थियो।
उनका अनुसार नेपाल सरकारसँग पुनः सम्झौता सम्पन्न भएपछि निर्माण प्रक्रिया औपचारिक रूपमा अघि बढ्नेछ। अस्पतालको अन्तरङ्ग भवनअगाडि तीन तले नयाँ भवन निर्माण गरिनेछ र चिनियाँ पक्षले सन् २०२६ भित्रै निर्माण कार्य सुरु गर्ने तयारी गरेको छ।
परियोजनामा करिब ३७ मिलियन चिनियाँ मुद्रा बराबरको लगानी हुने बताइएको छ। अस्पतालका निवर्तमान कार्यकारी निर्देशक डा. शिवजी पौडेलका अनुसार भवन निर्माण, उपकरण खरिद र आवश्यक जनशक्तिको तालिमको सम्पूर्ण व्यवस्थापन चीन सरकारले गर्नेछ। यसअघि नेपाल सरकार र चीनको ‘चाइना इन्टरनेसनल डेभलपमेन्ट को–अपरेसन एजेन्सी’बीच यस सम्बन्धी सम्झौता भइसकेको छ।
निर्माण हुने बोनम्यारो प्रत्यारोपण युनिट पाँच शय्याको हुनेछ। सुरुमा पुरानो भवनमै सेवा सञ्चालन गर्ने योजना रहे पनि आवश्यक मापदण्ड पूरा गर्न नयाँ भवन निर्माण गर्ने निर्णय गरिएको हो। भवन निर्माणस्थलको माटो परीक्षणलगायत प्रारम्भिक तयारीका कामसमेत सम्पन्न भइसकेका छन्।
सेवा सञ्चालनका लागि अस्पतालका चिकित्सक तथा नर्सहरूलाई चीनमा विशेष तालिम दिइँदै आएको छ। हाल तीन जना स्वास्थ्यकर्मी चीनमा तालिमरत छन् भने यसअघि तीन जनाले छ महिनाको र पाँच जनाले दुई साताको विशेष तालिम पूरा गरिसकेका छन्। निर्माण सुरु भएको करिब एक वर्ष छ महिनाभित्र परियोजना सम्पन्न गर्ने लक्ष्य राखिएको अस्पतालले जनाएको छ।
चिकित्सकका अनुसार बोनम्यारो शरीरका फ्ल्याट हड्डीभित्र रहने भाग हो, जहाँ रातो रक्तकोष (आरबीसी), सेतो रक्तकोष (डब्लुबिसी) र प्लेटलेट्स उत्पादन हुन्छन्। एप्लास्टिक एनिमिया तथा रक्त क्यान्सरजस्ता रोगका कारण बोनम्यारोले सामान्य रूपमा काम गर्न नसकेपछि बोनम्यारो प्रत्यारोपण आवश्यक पर्छ। यो प्रक्रिया शल्यक्रिया नभई विशेष विधिबाट सुईमार्फत बोनम्यारो वा रक्तकोष निकालेर पुनः प्रत्यारोपण गरिने आधुनिक उपचार पद्धति हो।
अस्पतालका अनुसार यो सेवा सञ्चालनमा आएपछि बोनम्यारो प्रत्यारोपणका लागि विदेश जानुपर्ने नेपाली बिरामीको बाध्यता अन्त्य हुने अपेक्षा गरिएको छ। साथै कम खर्चमै अन्तर्राष्ट्रिय स्तरको उपचार नेपालमै उपलब्ध हुने विश्वास अस्पतालले लिएको छ।
वि.सं. २०५१ मा चीन सरकारको सहयोगमा स्थापना भएको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले हाल नेपालका साथै भारतबाट आउने बिरामीलाई समेत क्यान्सर उपचार सेवा प्रदान गर्दै आएको छ।रासस


