काठमाडौं, साउन २० — नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपालको कम्युनिस्ट आन्दोलनको एउटा चरण पूरा भएको टिप्पणी गर्दै नयाँ दृष्टिकोणसहित आन्दोलनलाई पुनर्गठन गर्नुपर्ने बताएका छन्।
बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले अहिले सबै कम्युनिस्ट पार्टीभित्र नयाँ बहस चलिरहेको उल्लेख गर्दै कुनै एक दल वा एक नेताले मात्र कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउन नसक्ने अवस्था देखिएको बताए।
उनले नयाँ घोषणापत्र, नयाँ दृष्टिकोण र स्पष्ट राजनीतिक अवधारणासहित ‘नयाँ कम्युनिस्ट केन्द्र नेपाल’ निर्माण गरेर कम्युनिस्ट शक्तिहरूलाई पुनर्गठन गर्नुपर्ने आवश्यकता औँल्याए। उनका अनुसार त्यसरी मात्रै कम्युनिस्ट आन्दोलनलाई नयाँ पुस्तामाझ पुनः स्थापित गर्न सकिनेछ।
विप्लवले पछिल्ला दुई दशकमा कम्युनिस्ट नेता र पार्टीहरूबाट भएका कमजोरीका कारण एक समय करिब ७० प्रतिशत रहेको जनसमर्थन अहिले २२ देखि २५ प्रतिशतमा सीमित भएको दाबी गरे। उनले कम्युनिस्ट आन्दोलनलाई समयअनुकूल रूपान्तरण र पुनर्गठन गर्नु अपरिहार्य रहेको बताए।
पत्रकार सम्मेलनमा उनले वर्तमान सरकारबारे पनि टिप्पणी गर्दै काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारको “दिनगन्ती सुरु भएको जस्तो देखिएको” बताए। विभिन्न बौद्धिक, विज्ञ, राजनीतिज्ञ तथा कूटनीतिज्ञहरूबीच सरकार धेरै समय टिक्न नसक्ने चर्चा भइरहेको आफूले सुनेको उल्लेख गर्दै उनले यसको यथार्थ समयले पुष्टि गर्ने बताए।
विप्लवले सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाउँदै जनविश्वास कायम राख्न प्रभावकारी कार्यसम्पादन आवश्यक रहेको धारणा व्यक्त गरे।


