चितवन, साउन ९ — चितवनको इच्छाकामना गाउँपालिका–७ भालुवाङस्थित सुन्दरबस्तीको सङ्गमटोलका ३४ भूमिहीन परिवारलाई शुक्रबार जग्गाधनी दर्ता प्रमाणपत्र (लालपूर्जा) वितरण गरिएको छ।
भूमि समस्या समाधान समितिका अध्यक्ष बलभद्र बाँस्तोलाले लालपूर्जा वितरण गर्दै सबै पक्षको सहयोग भए आफ्नो कार्यकालभित्र नै बाँकी रहेका सबै भूमिहीन सुकुम्बासीलाई पनि जग्गाधनी प्रमाणपत्र उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले ५०० दिनभित्र लालपूर्जा वितरणको काम सम्पन्न गर्ने लक्ष्य रहेको बताउँदै त्यसका लागि स्थानीय तह, जिल्ला भूमि समस्या समाधान समिति तथा निवेदकको सक्रिय सहयोग आवश्यक पर्ने उल्लेख गर्नुभयो। उहाँका अनुसार सुकुम्बासीलाई लालपूर्जा वितरण गरिएको यो देशकै दोस्रो जिल्ला हो।
कार्यक्रममा भूमि समस्या समाधान समिति चितवनका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सबै स्थानीय तहसँग समन्वय गरेर प्रक्रिया पूरा भएका लाभग्राहीलाई तत्काल लालपूर्जा वितरण गरिने र प्रक्रिया नपुगेकाको आवश्यक कामलाई पनि तीव्रता दिइने बताउनुभयो। उहाँले जिल्लाका सबै पालिकामा नाप–नक्सा, दर्ता, प्रमाणीकरणलगायतका काम भइरहेको जानकारी दिँदै चितवनमा हालसम्म ४२ हजार निवेदन परेको बताउनुभयो।
इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङका अनुसार लालपूर्जा प्राप्त गर्नेमध्ये चार घर भूमिहीन दलित र ३० घर भूमिहीन सुकुम्बासी रहेका छन्। सोही टोलका ३८ घरको लालपूर्जा तयार भए पनि चार घरधनी फोटो टाँस्ने क्रममा बाहिर रहेकाले उनीहरू उपस्थित भएपछि बाँकी लालपूर्जा पनि वितरण गरिने उहाँले जानकारी दिनुभयो।
गाउँपालिकामा अझै ८० घर भूमिहीन दलित, ७७१ घर भूमिहीन सुकुम्बासी तथा दुई हजार ९३० अव्यवस्थित बसोबासी परिवार प्रक्रियामा रहेका छन्।
लालपूर्जा वितरण कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीसहित इच्छाकामना गाउँपालिकाका सातवटै वडाका वडा अध्यक्ष तथा स्थानीय जनप्रतिनिधिको उपस्थिति रहेको थियो। कार्यक्रममा लालपूर्जा प्राप्त गरेका परिवारहरूले लामो समयदेखिको जग्गा स्वामित्वको सपना पूरा भएको भन्दै खुसी व्यक्त गरेका थिए।


