नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)की प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल काममा फर्किएकी छिन् ।
प्रबन्ध निर्देशक अर्यालमाथि लागेको बिलिङ प्रणाली ठेक्काको मुद्दाको आरोपमा विशेष अदालतबाट सफाइ पाएपछि उनी नियमित काममा फर्किएकी हुन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्णयअनुसार उनको निलम्बन फुकुवा भई उनी टेलिकममा पुनर्बहाली भएकी हुन् । पद बहाली गर्दै प्रबन्ध निर्देशक अर्यालले कम्पनीका कर्मचारीहरूलाई विशेष सम्बोधन गर्दै संस्था र देशको हितमा निष्ठापूर्वक काम गर्न डराउन नपर्ने बताइन् ।
उनले कम्पनीमा प्रक्रियागत सुधारको आवश्यकता औँल्याउँदै आगामी दिनमा आन्तरिक मात्र नभई बाह्य दृष्टिकोणलाई समेत ध्यानमा राखेर कार्य गरिने बताइन् ।
साथै उनले नेपाल सरकारको भावना एवं मार्ग निर्देशन अनुरूप अविचलित तथा सत्यनिष्ठ भई नेपाल टेलिकमको जनआस्था र बजारको साखलाई थप सुदृढ बनाइ कम्पनीको सेवालाई थप ग्राहकमैत्री बनाउने बताइन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई ३३ करोड ४८ लाख १७ हजार बिगो कायम गरी २०८२ जेठ २५ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अदालतले यही असार २५ गते पहाडीलाई उक्त मुद्दामा सफाइ दिएको थियो ।


