चितवन, असार १० । इच्छाकामना गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ६८ करोड ४२ लाख २८ हजार रुपैयाँको वार्षिक बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ। कुल बजेटमध्ये ४६ करोड ३९ लाख रुपैयाँ चालु खर्च र २१ करोड ८५ लाख रुपैयाँ पुँजीगत खर्चतर्फ विनियोजन गरिएको छ।
गाउँपालिकाले सामाजिक विकासलाई उच्च प्राथमिकतामा राख्दै २६ करोड ९५ लाख ६९ हजार रुपैयाँ विनियोजन गरेको छ भने पूर्वाधार विकासका लागि २२ करोड ८६ लाख १३ हजार रुपैयाँ छुट्याएको छ। सुशासन तथा संस्थागत क्षमता विकासमा १२ करोड ४२ लाख, आर्थिक विकासतर्फ ५ करोड ११ लाख ८२ हजार तथा वन, वातावरण तथा विपद् व्यवस्थापनका लागि ८८ लाख ७१ हजार रुपैयाँ विनियोजन गरिएको छ।
शिक्षा तथा स्वास्थ्य क्षेत्रअन्तर्गत विद्यालय भौतिक सुधारका लागि २ करोड ३५ लाख, मावि ढुङ्ग्रे भवन सम्पन्न गर्न ४० लाख, आवि पामडाँडा भवन निर्माणका लागि ७० लाख तथा इच्छाकामना अस्पताल सुदृढीकरणका लागि १ करोड ३९ लाख रुपैयाँ छुट्याइएको छ।
पर्यटन, संस्कृति तथा उद्यमशीलता प्रवर्द्धनका लागि लामो झरना पर्यटकीय तथा धार्मिक स्थलको पूर्वाधार विकासमा २ करोड २३ लाख रुपैयाँ विनियोजन गरिएको छ। होटल, रेष्टुरेन्ट, होमस्टे, कला–संस्कृति प्रवर्द्धन तथा रैथाने बाली संरक्षणका लागि ६५ लाख रुपैयाँ छुट्याइएको छ।
गौरवका सडक आयोजनाअन्तर्गत कालिङ–जौतेस–थाप्राङ–चौकिडाँडा सडक स्तरउन्नतिका लागि २ करोड रुपैयाँ तथा वर्ल्याङ–हपनी–काउले–भोटेगाउँ सडक स्तरोन्नतिका लागि पनि २ करोड रुपैयाँ विनियोजन गरिएको छ।
यस्तै, वडास्तरीय समग्र पूर्वाधार विकासका लागि वडा नं. ३ मा १ करोड ३५ लाख, वडा नं. ४ मा १ करोड ६९ लाख, वडा नं. ५ मा १ करोड ५२ लाख, वडा नं. ६ को सडक पूर्वाधारमा १ करोड ७७ लाख तथा वडा नं. ७ मा १ करोड ९५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ।


