NAINN को नवौं राष्ट्रिय भेला कालिकामा सुरु

चेपाङ समुदायको पहिचान, सम्मान र अधिकारका लागि

चितवन, जेठ २३ – “पहिचान, सम्मान र अधिकार : चेपाङ समुदायको विकासको आधार” भन्ने मूल नाराका साथ नेपाल प्रशंसनीय दृष्टिकोण राष्ट्रिय सञ्जाल (NAINN) को नवौं राष्ट्रिय भेला चितवनको कालिका नगरपालिका–१०, तिनदोभानमा सुरु भएको छ।

दुई दिने राष्ट्रिय भेलाको उद्घाटन कार्यक्रम सञ्जालका अध्यक्ष कपिल पोखरेलको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा राष्ट्रिय अभियानकर्ता डा. रामलाल रावत, जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण प्रसाद अधिकारी, कालिका नगरपालिकाका पूर्व नगर प्रमुख खुमनारायण श्रेष्ठ, कालिका नगरपालिका वडा नं. १० का अध्यक्ष नरजंग प्रजा, वडा नं. ११ का अध्यक्ष कृष्णबहादुर प्रजा लगायत विभिन्न जिल्लाबाट आएका प्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।

भेलाको मुख्य उद्देश्य चेपाङ समुदायको कला, संस्कृति, भाषा, परम्परा तथा जीवनशैलीबारे अध्ययन, सिकाइ, संरक्षण र प्रवर्द्धन गर्नु रहेको आयोजकले जनाएको छ। साथै समुदायको पहिचान, अधिकार र सम्मान स्थापित गर्दै समावेशी तथा सद्भावपूर्ण समाज निर्माणमा सकारात्मक योगदान पुर्‍याउने लक्ष्यका साथ कार्यक्रम आयोजना गरिएको बताइएको छ।

“सद्भावपूर्ण समाज निर्माणमा मेरो योगदान, सकारात्मक तरङ्ग सिर्जना गर्न सकारात्मक अभियान” भन्ने सन्देशसहित सञ्चालन भइरहेको उक्त भेला दुई दिनसम्म चल्नेछ। भेलाको अन्तिम दिन विभिन्न निष्कर्ष र प्रतिबद्धता समेटिएको घोषणापत्र जारी गर्दै कार्यक्रम समापन गरिने आयोजकले जनाएको छ।

 

 

SHARE:

प्रतिक्रिया दिनुहोस्

थप समाचारहरू

ताजा समाचार