चितवन, । चितवनमा अवैध रूपमा अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) को संचय तथा कारोबार गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनुषा घर भई हाल भरतपुर महानगरपालिका–१० चित्रसेन टोलमा बस्दै आएका २९ वर्षीय पप्पू कुमार यादव रहेका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार यादवले मोबाइल फोन तथा अन्य विद्युतीय उपकरण प्रयोग गरी क्रिप्टोकरेन्सी कारोबार गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा विशेष प्रहरी टोली परिचालन गरिएको थियो। जेठ १५ गते साँझ करिब ६ः३० बजे उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीले उनको शरीर तथा डेरा कोठामा खानतलासी गर्दा क्रिप्टोकरेन्सी कारोबारमा प्रयोग भएको आशंकामा १७ वटा स्क्रिनटच मोबाइल फोन, ३ वटा किप्याड मोबाइल फोन तथा अन्य विद्युतीय सामग्री बरामद गरेको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा उनले Binance र Bybit एपमार्फत क्रिप्टोकरेन्सीको संचय तथा कारोबार गर्दै आएको खुलेको प्रहरीले जनाएको छ।
पक्राउ परेका यादवमाथि अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डीएसपी चन्द्र भुसन यादवका अनुसार चितवन जिल्ला अदालतबाट म्याद थप अनुमति लिएर उनलाई हिरासतमा राखी थप अनुसन्धान अगाडि बढाइएको छ।


