काठमाडौं । चारित्रिक विवादमा मुछिएका सांसद कृष्ण कार्कीमाथि राष्ट्रिय स्वतन्त्र पार्टीले छानबिन अघि बढाएको छ । उनीमाथि लागेको आरोपका सम्बन्धमा पार्टीको अनुशासन आयोगले छानबिन गरिरहेको हो ।
कार्कीमाथि एक विदेशी महिलालाई गर्भवती बनाएर अलपत्र पारेको आरोप लागेको छ । जनआस्था साप्ताहिकले प्रमाणहरूसहित समाचार प्रकाशित गरेको थियो । कार्कीले समाचारको स्पष्ट खण्डन गर्न सकेका छैनन् ।
पार्टीको अनुशासन आयोगले कार्कीसँग बयान लिइसकेको बुझिएको छ । संसदीय दलकी सचेतक क्रान्तिशीखा धितालले समेत उनीसँग सोधपुछ गरेकी थिइन् । कार्कीले यो आफ्नो निजी मामिला भएको र आफैँले समाधान गर्ने बताएका छन् ।
यसअघि पत्रकारहरूसँग कुरा गर्दै कार्कीले आफूसित नाम जोडिएकी महिला नाइजेरियन नभएको बताएका छन् । तर, कुनै पनि विदेशी महिलालाई गर्भवती बनाएको हो वा होइन भन्नेमा उनको जवाफ गोलमटोल छ । कार्की यसअघि जेनजी आन्दोलनमा तोडफोड र आगजनी गरेको विषयमा पनि विवादित थिए । उनी मोरङ २ बाट निर्वाचित भएका हुन् ।
अनुशासन आयोगले गर्ने सिफारिसका आधारमा रास्वपाको केन्द्रीय समितिले कार्कीमाथि कारबाही गर्नेबारे निर्णय लिने छ ।


