सहयोग मात्र होइन, जिम्मेवारी पनि: कालिकाको सन्देश

सहयोगको प्रभावकारिता जाँच्दै कालिका: वितरणपछि अनुगमनमार्फत पारदर्शिता र उत्तरदायित्वमा जोड

कालिका नगरपालिका भित्रका एकल महिला तथा शारीरिक अपाङ्गता भएका व्यक्तिहरूलाई आयआर्जनमा टेवा पुर्‍याउने उद्देश्यले आ.ब. २०८१/८२ अन्तर्गत वितरण गरिएका १३१ वटा प्रजननयोग्य बाख्रापाठीहरूको वितरण पश्चात अनुगमन कार्य सम्पन्न गरिएको छ।

नगरपालिकाले वितरणपछि अनुगमन नगर्दा सहयोगको सही सदुपयोग नहुने तथा दुरुपयोग बढ्ने गुनासोलाई मध्यनजर गर्दै घर–घरमै पुगेर अनुगमन गरेको जनाएको छ। नगर उप–प्रमुख विमला तामाङका अनुसार यस कार्यक्रमले वास्तविक लाभग्राहीको अवस्था बुझ्न र समस्यासँग नजिक हुन महत्त्वपूर्ण अवसर दिएको छ।

अनुगमनका क्रममा सम्बन्धित लाभग्राहीहरूको घरमै पुगेर बाख्राको अवस्था निरीक्षण गर्नुका साथै आवश्यक औषधि समेत वितरण गरिएको पशु शाखा प्रमुख ईश्वरी प्रसाद पोखरेलले जानकारी दिनुभयो। यसले किसानहरूलाई थप सहयोग पुगेको र पशुपालनलाई व्यवस्थित बनाउन मद्दत गरेको बताइएको छ।

अनुगमनको क्रममा केही बाख्रा रोगका कारण मरेका, भने केही जंगली जनावरको आक्रमणबाट नष्ट भएको पाइएको छ।

महिला, बालबालिका तथा समाज कल्याण उपशाखा प्रमुख संझना ढकाल दुवाडीका अनुसार यस्ता घटनामा प्रमाण उपलब्ध गराउने लाभग्राहीलाई बिमा रकममार्फत क्षतिपूर्ति प्रदान गरिनेछ।

नगर उप–प्रमुख तामाङले वितरणकै क्रममा बाख्राको बिमा गरिएको जानकारी दिँदै भविष्यमा यस्ता क्षतिमा पीडितलाई राहत मिल्ने स्पष्ट पार्नुभयो। “हामीले वितरणसँगै सुरक्षा पनि सुनिश्चित गरेका छौँ, कुनै पनि क्षतिमा बिमा मार्फत सहयोग गरिन्छ,” उहाँले भन्नुभयो।

अनुगमनका क्रममा बाख्रासँगै किसानहरूको गोठ, जीवनस्तर र उनीहरूको समग्र अवस्थाबारे प्रत्यक्ष जानकारी लिने अवसर समेत प्राप्त भएको जनाइएको छ। यसले आगामी योजना निर्माणमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।

उक्त अनुगमन कार्य १ देखि ११ वटै वडामा सम्पन्न भएको हो। नगर उप–प्रमुख विमला तामाङको नेतृत्वमा प्रमुख प्रशासकिय अधिकृत देवराज चौलागाई , आर्थिक विकास शाखा, संघ संस्था/व्यवसाय दर्ता तथा सहकारी शाखा प्रमुख प्रकाश चन्द्र पौडेल, पशुपन्छी विकास शाखा प्रमुख ईश्वरी प्रसाद पोखरेल तथा महिला, बालबालिका तथा समाज कल्याण उपशाखा प्रमुख संझना ढकाल दुवाडी सहितको संयुक्त टोलीले अनुगमन सम्पन्न गरेको हो।

SHARE:

प्रतिक्रिया दिनुहोस्

थप समाचारहरू

ताजा समाचार