इरानमा नेपाली क्याप्टेन अमृत झा नियन्त्रणमा, उद्धारका लागि सरकारको पहल

काठमाडौं, ८ चैत । उदयपुर गाईघाटका ३३ वर्षीय अमृत झा इरानी सुरक्षाकर्मीको नियन्त्रणमा परेका छन्।

दुबईस्थित पानीजहाज कम्पनीमा क्याप्टेनका रूपमा कार्यरत झा इरानबाट तेल लिएर फर्किने क्रममा फारसी खाडीको होर्मुज स्ट्रेट क्षेत्रबाट पक्राउ परेका हुन्। उनी बन्दर अब्बास बन्दरगाहबाट फर्किँदै गर्दा इरानी रेभुलेसन गार्डले नियन्त्रणमा लिएको जनाइएको छ।

झाले केही दिनपछि नयाँ नम्बरबाट परिवारलाई ह्वाट्सएपमार्फत भ्वाइस सन्देश पठाउँदै आफू र दुई भारतीय नागरिक नियन्त्रणमा परेको जानकारी दिएका थिए। उनले आफ्नो उद्धारका लागि नेपाल सरकारसँग पहल गरिदिन आग्रह गरेका थिए। त्यसपछि भने उनीसँग सम्पर्क हुन सकेको छैन।

घटनापछि उनकी दिदी पूजा झाले कन्सुलर सेवा विभागमा निवेदन दिएकी छन्। निवेदनपछि परराष्ट्र मन्त्रालयले उनको अवस्थाबारे बुझ्न दोहास्थित नेपाली दूतावासमार्फत पहल सुरु गरेको जनाएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार हाल झासँग ‘कन्सुलर एक्सेस’ प्राप्त गर्ने प्रयास भइरहेको छ। दूतावास, मन्त्रालय तथा कन्सुलेटमार्फत उनको अवस्थाबारे जानकारी लिन काम भइरहेको र यसलाई उच्च प्राथमिकतामा राखिएको बताइएको छ।

यता, युद्धको अवस्थाका कारण इरानमा प्रत्यक्ष पहुँच सहज नभएकाले उद्धार प्रक्रिया जटिल बनेको छ। इरानस्थित नेपाली कन्सुलेट हाल टर्कीबाट सञ्चालन हुँदै आएको छ।

झा दुई वर्षअघि वैदेशिक रोजगारीका लागि दुबई गएका थिए। पछिल्लो पटक उनले गत जनवरी १२ मा घरमा सम्पर्क गरी काम सकेपछि नेपाल फर्किने बताएका थिए।

हाल उनको परिवार उदयपुरबाट काठमाडौं आएको छ। परिवारले उनको सुरक्षित रिहाइको माग गर्दै सरकारसँग अपिल गरिरहेको छ। त्रियुगा नगरपालिकाले समेत परराष्ट्र मन्त्रालयलाई पत्र लेख्दै तत्काल कूटनीतिक पहल गर्न आग्रह गरेको छ।

परराष्ट्र मन्त्रालयका अनुसार इरानमा हाल १० जना नेपाली रहेका छन् र उनीहरू सुरक्षित छन्। इजरायल–अमेरिका र इरानबीच जारी युद्धका कारण मध्यपूर्वमा सुरक्षा अवस्था झन् जटिल बन्दै गएको छ, जसले त्यहाँ रहेका नेपालीहरूको चिन्ता बढाएको छ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

थप समाचारहरू

ताजा समाचार