काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)को केन्द्रीय कार्यालयमा गरिएको तालाबन्दी खुलेको छ।
आज एन्फा महासचिव किरण राईको उपस्थितिमा नेपाल फुटबल खेलाडी संघसँग भएको छलफलपछि खेलाडी संघले एन्फा कार्यालयमा गरेको तालाबन्दी खोलेको हो।
एन्फा कम्प्लेक्स परिसरमा भएको छलफलपछि दुवै पक्षबीच सहिद स्मारक ‘ए’ डिभिजन लिग यही चैत ३० गतेदेखि सुरु गर्ने सहमति भएको छ। साथै खेलाडी अक्षय कोषमा जम्मा गर्नुपर्ने रकम संघले नै जम्मा गर्ने प्रतिबद्धता जनाएको छ।
त्यस्तै खेलाडीहरूको सेवा–सुविधासम्बन्धी अघिल्लो कार्यसमितिबाट निर्णय भई भुक्तानी हुन बाँकी रहेको पुरस्कार रकम यही चैत महिनादेखि किस्ताबन्दीमा भुक्तानी गर्दै जाने सहमति पनि भएको छ।
छलफलमा एन्फा महासचिव राईसँगै केन्द्रीय सदस्य पुरुषोत्तम थापा, प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधर, कोषाध्यक्ष रविन्द्र जोशी, प्रवक्ता सुरेश शाह तथा खेलाडी संघका प्रतिनिधिहरू सहभागी भएका थिए।
एन्फा र खेलाडी संघबीच भएको सहमतिबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा एन्फा प्रवक्ता शाह, प्रतियोगिता निर्देशक सञ्जीव मिश्र, खेलाडी संघका अध्यक्ष विक्रम लामा र उपाध्यक्ष विकेश कुथुले धारणा व्यक्त गरेका थिए।


