काठमाडौँ । मध्यपूर्व
मा जारी द्वन्द्वले भारतीय बन्दरगाह प्रभावित भएका छन् । भारतीय समाचार संस्था आजतकका अनुसार, पछिल्लो समय खाडी देशमा जाने लगभग २ हजार कार चेन्नई बन्दरगाहमा फसेका छन् । युद्धभूमि भारतबाट टाढा भए पनि यसको प्रभाव भारतको निर्यात र व्यापारमा पनि परिरहेको छ ।
इरान, इजरायल र संयुक्त राज्य अमेरिका बीचको जारी युद्धले विशेष गरी अटोमोबाइल र कपडा निर्यातमा असर गरेको छ । न्यु इन्डियन एक्सप्रेसको एक रिपोर्ट अनुसार, पश्चिम एसियामा बढ्दो द्वन्द्वले भारतको निर्यात प्रणालीमा असर गरिरहेको छ। हुन्डाई मोटर इन्डियाले खाडी देशमा पठाएका लगभग २ हजार सवारी साधन अब चेन्नई बन्दरगाहमा फिर्ता ल्याइनु पर्ने अवस्था बनेको भन्दै चिन्ता गरिएको छ ।
पश्चिम एसियाली बजारमा ढुवानी गर्न पठाइएका गाडीहरु फसेका हुन् । होर्मुज जलडमरू र लाल सागर जस्ता प्रमुख समुद्री मार्गमा सामान ढुवानी जोखिम भएकाले यस्तो समस्या आएको हो ।
खाडी देशहरूको लागि प्रमुख कन्टेनर निर्यात केन्द्र, मन्नारको खाडीमा रहेको वीओ चिदम्बरम बन्दरगाह पनि प्रभावित भएको छ । कपडा, घरेलु कपडा, खाद्य उत्पादन, अण्डा र इन्जिनियरिङ कास्टिङ जस्ता सामान पश्चिम एसिया पठाउन समस्या भएको छ ।
चेन्नई बन्दरगाह प्राधिकरणले समस्या सम्बोधन गर्न विभिन्न विकल्प खोजी गरिरहेको छ। चिदम्बरम बन्दरगाह टर्मिनल बाहिर लगभग २० हजार वर्ग मिटरको यार्ड क्षेत्रलाई अस्थायी कार्गो भण्डारणको लागि योजना बनाउँदैछ । जहाँ आवश्यक परे कन्टेनर भण्डारण गर्न सकिन्छ। होर्मुजको जलडमरूबाट बच्न वैकल्पिक समुद्री मार्गहरूबारे छलफल गर्न बन्दरगाह प्राधिकरण र निर्यातकर्ताहरू बीच उच्चस्तरीय बैठकहरू भइरहेका छन् । समाचार प्रयोग गरिएको तस्बिर सांकेतिक हो ।


