चितवन- इच्छाकामना गाउँपालिका वडा नम्बर २ मा ११६औँ अन्तर्राष्ट्रिय महिला दिवस विविध कार्यक्रमका साथ सम्पन्न गरिएको छ। इच्छाकामना गाउँपालिका वडा नं. २ को संयोजनमा तथा AWO इन्टरनेशनल र विकासका लागि ग्रामीण कल्याण तथा कृषि सुधार समूह (FORWARD Nepal) को सहकार्यमा सञ्चालन भइरहेको “दिगो आर्थिक विकासका लागि आप्रवासी सशक्तिकरण (MEED) परियोजना” अन्तर्गत कार्यक्रम आयोजना गरिएको हो।
फाल्गुण २४ गते अर्थात् मार्च ८ का दिन आयोजित कार्यक्रममा प्लेकार्ड तथा ब्यानरसहित मायाटार गाउँ परिक्रमा गरिएको थियो। त्यसपछि स्वास्थ्य चौकीको प्राङ्गणमा कोण सभा आयोजना गरिएको थियो।
इच्छाकामना गाउँपालिकाको पर्यटकीय क्षेत्र मायाटारमा आयोजित उक्त कार्यक्रमको अध्यक्षता वडा नं. २ का वडा अध्यक्ष श्री पञ्च बहादुर प्रजाले गर्नुभएको थियो। कार्यक्रममा स्थानीय महिला अगुवा श्री हिमा गुरुङले शुभकामना मन्तव्य राख्नुभएको थियो।
त्यसैगरी, फरवार्ड नेपालका परियोजना संयोजक श्री ऋषिकेश ढकालले अन्तर्राष्ट्रिय महिला दिवसको ऐतिहासिक पृष्ठभूमि, नेपालको सन्दर्भमा महिला तथा अझै पनि सिमान्तकृत महिलाका हक–अधिकार र MEED परियोजनाको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो। उहाँले सुरक्षित आप्रवासनका लागि सरकारका प्रयास र नागरिकहरूको भूमिका तथा कर्तव्यबारे समेत स्पष्ट पार्नुभयो।
कार्यक्रममा अन्तर्राष्ट्रिय महिला दिवसले महिला अधिकार, समानता, न्याय र सशक्तिकरणका लागि विश्वभर भएका संघर्ष र उपलब्धिहरूलाई स्मरण गर्दै सबै नारी, आमा, दिदीबहिनीहरूलाई शुभकामना व्यक्त गरिएको थियो।
वडा अध्यक्ष तथा कार्यक्रमका सभापति श्री पञ्च बहादुर प्रजाले ११६औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको महत्वबारे चर्चा गर्दै इच्छाकामना गाउँपालिकाले महिलाका लागि सञ्चालन गरिरहेका विभिन्न नीति तथा कार्यक्रमबारे जानकारी गराउनुभएको थियो।
कार्यक्रममा उपस्थित सम्पूर्ण महिला दिदीबहिनी तथा सहयोगी संस्था फरवार्ड नेपाललाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गरिएको थियो।-0-


