लन्डन–पेरिसको झल्कोसहित नारायणी एक्सपो २०८२ चितवनमा

चितवन/ नारायणी नदी किनारमा आयोजना हुन गइरहेको नारायणी एक्सपो २०८२ को तयारी अन्तिम चरणमा पुगेको छ। आयोजकका अनुसार एक्सपोको करिब ८० प्रतिशत तयारी सम्पन्न भइसकेको छ भने बाँकी सम्पूर्ण तयारी पुस २८ गतेभित्र पूरा गरिनेछ। यही विषयमा जानकारी दिन आयोजकले आज शनिबार पत्रकार सम्मेलनको आयोजना गरेको हो।

रेड रक इभेन्ट एण्ड म्यानेजमेन्ट भरतपुरको आयोजनामा पुस ३० गतेदेखि माघ १४ गतेसम्म सञ्चालन हुने यस एक्सपोमा २०० भन्दा बढी व्यावसायिक, औद्योगिक, कृषि, पर्यटन तथा सेवामूलक स्टलहरू रहनेछन्। स्वदेशी उत्पादनको प्रवर्द्धन, स्थानीय उद्यमीको प्रोत्साहन तथा साना तथा मझौला व्यवसायलाई बजार उपलब्ध गराउनु एक्सपोको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ।

नारायणी एक्सपो २०८२ का विशेष आकर्षणका रूपमा विश्वप्रसिद्ध सहरहरूको थिम–सेटअप प्रस्तुत गरिनेछ। लन्डन, पेरिस, स्ट्याचु अफ लिबर्टी र काश्मिर भ्यालीजस्ता स्थानहरूको झल्को दिने सजावट दर्शकका लागि प्रमुख आकर्षण बन्ने अपेक्षा गरिएको छ। यसका साथै विविध सांस्कृतिक कार्यक्रम, मनोरञ्जनात्मक प्रस्तुति, बालबालिकामैत्री गतिविधि तथा अन्तर्राष्ट्रिय स्वाद समेटिएको फुड कोर्टको व्यवस्था गरिएको एक्सपो व्यवस्थापन समिति अध्यक्ष विकल क्षेत्रीले जानकारी दिए।

एक्सपोमा सुरक्षा, स्वच्छता, पार्किङ व्यवस्थापन तथा दर्शकमैत्री सेवा प्रणालीलाई विशेष प्राथमिकता दिइएको छ। करिब एक लाख दर्शकले एक्सपो अवलोकन गर्ने अनुमान गरिएको छ, जसले चितवनको आर्थिक र पर्यटन गतिविधिमा उल्लेख्य टेवा पुग्ने विश्वास आयोजकले व्यक्त गरेको छ।

एक्सपो अवलोकनका लागि सर्वसाधारण टिकट शुल्क १०० रुपैयाँ, विद्यार्थीका लागि ७० रुपैयाँ तोकिएको छ भने अपाङ्ग व्यक्तिहरूका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। आयोजकले सार्वजनिक विदा तथा चाडपर्वको अवसर पारेर परिवारसहित नारायणी एक्सपो २०८२ अवलोकन गरी कार्यक्रमलाई सफल बनाउन सबैमा आग्रह गरेको छ।-0-

SHARE:

प्रतिक्रिया दिनुहोस्

थप समाचारहरू

ताजा समाचार