बुटवल । अहिले सामाजिक सञ्जालहरूमा रुपन्देहीका एमाले नेता बासुदेव घिमिरे चर्चित छन् । पार्टीको महाधिवेशनमा पराजित भएका घिमिरेले पार्टी छाडेको घोषणा गरे ।
मंगलबारबाटै पार्टीप्रतिको असन्तुष्टिले एमाले छोडेको भन्दै उनले फेसबुकमा स्टाटस लेखे । त्यसपछि घिमिरेलाई केहीले अवसरवादी भने, केहीले एमालेबाट अलग्गिएको भन्दै बधाई दिए ।
एमाले छाडेका घिमिरे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेशको तयारीमा थिए । उनले रास्वपामा प्रवेश गर्नेमा आफू सकारात्मक रहेको बताएका छन् । उनले बाह्रखरीसँग कुरा गर्दै एमाले छाडिसकेको दोहोर्याएका थिए ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वप्रति असन्तुष्टि जनाएका घिमिरेले पार्टीलाई निकै खराब बनाएको टिप्पणी गरेका थिए ।
तर, त्यसको दुई दिनमै घिमिरे पुनः एमालेमै फर्किने भएका छन् ।
एमालेका उपाध्यक्ष विष्णु पौडेल रुपन्देही पुगेर घिमिरेसहित असन्तुष्ट नेताहरूसँग छलफल गरेपछि उनी पुनः एमालेमै फर्कन सहमत भएको बताइएको छ । पौडेलले आफ्नो फेसबुकमा फोटो राख्दै हामी सँगै छौँ भनेका छन् ।०४८ देखी एमालेमा सक्रिय घिमिरे ०७४ मा रुपन्देहीको
तिलोत्तमाको नगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए भने ०७९ मा रुपन्देही- ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।


