मुग्लिङ, ११ पुस । चितवन उद्योग संघ इच्छाकामना समिति तथा होटल व्यवसायी संघ इच्छाकामना इकाइ समितिको संयुक्त आयोजनामा दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा फुड फेस्टिवल–२०८२ सुरु भएको छ।
महोत्सवको उद्घाटन बागमती प्रदेश सरकारका पूर्व वातावरण मन्त्री तथा चितवन क्षेत्र नं. २ (क) का सांसद कृष्ण सिलवालले गर्नुभएको हो। उद्घाटन समारोहमा बोल्दै उहाँले मुग्लिङ क्षेत्रले होटल तथा आतिथ्य व्यवसायमार्फत स्थानीय अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिँदै आएको उल्लेख गर्नुभयो। सुन्तला महोत्सवले स्थानीय कृषकको उत्पादनलाई बजारसँग जोड्नुका साथै रैथाने खानाको प्रवर्द्धनमा समेत टेवा पुर्याउने उहाँको भनाइ थियो।
इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले महोत्सवले सुन्तला कृषक र उपभोक्ताबीच प्रत्यक्ष सम्पर्क स्थापित गराउने बताउँदै यसले कृषकलाई उचित मूल्य दिलाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरे र होटल व्यवसायी संघ चितवनका अध्यक्ष ऋषिकेश अर्यालले महोत्सवले स्थानीय कृषि उत्पादन र होटल व्यवसायलाई एकआपसमा जोड्दै पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो।
महोत्सव अवधिभर मुग्लिङ क्षेत्रका होटल तथा रेष्टुरेन्टहरूले खाना र बासमा कम्तीमा २० प्रतिशत छुट उपलब्ध गराएका छन्। साथै, फुड स्टल, विविध सांस्कृतिक कार्यक्रम तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति पनि रहने आयोजकले जनाएको छ।
महोत्सवको दोस्रो दिन व्यावसायिक सुन्तला खेतीसम्बन्धी गोष्ठी आयोजना गरिनेछ भने उत्कृष्ट सुन्तला कृषकलाई सम्मान गर्ने कार्यक्रम पनि समावेश गरिएको छ। आयोजकका अनुसार महोत्सवले सुन्तला उत्पादन, स्थानीय परिकार र पर्यटन प्रवर्द्धनमार्फत इच्छाकामना क्षेत्रको पहिचानलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।


