चितवनको ईच्छाकामना गाउँपालिका–२, घुर्केश गाउँस्थित गुरुङ बस्तीकी सामाजिक व्यक्तित्व माया गुरुङ (माया दिदी) सम्मानसहित बिदाइ हुनुभएको छ। साविक चण्डिभञ्ज्याङ गाविस हाल ईच्छाकामना–२ मा जन्मिनु र हुर्किनु भएकी उहाँ समाजसेवा र राजनीतिमा समान रूपले सक्रिय रहँदै आउनुभएको छ।
२०४६ सालदेखि महिला स्वयंसेविकाका रूपमा काम सुरु गर्नुभएकी माया गुरुङले ३६ वर्षसम्म निरन्तर रूपमा समाजका महिला, आमा तथा दिदी–बहिनीहरूको सेवामा आफूलाई समर्पित गर्नुभयो। साना देखि पाका सबैका लागि ‘बैंक घरे दिदी’ र ‘माया दिदी’ नामले परिचित उहाँ पहाडी गाउँमा छुट्टै पहिचान र इतिहास बनाउन सफल हुनुभएको छ।
ईच्छाकामना गाउँपालिका कुरिनटार, चितवनद्वारा आयोजित १८औँ गाउँ सभाको विशेष अवसरमा उहाँलाई नगद १ लाख रुपैयाँसहित सम्मान गरी बिदाइ गरिएको हो। समाजमा कयौँ आमाहरूको जीवनमा मलम लगाउने काम गर्न सफल माया गुरुङले बाँकी जीवन पनि समाजका दिदी–बहिनीहरूकै सेवामा समर्पित गर्ने चाहना व्यक्त गर्नुभएको छ।
३६ वर्षे निस्वार्थ योगदानको कदर गर्दै उहाँको आगामी जीवन अझ सहज, स्वस्थ र प्रेरणादायी रहोस् भन्ने शुभकामनासहित स्थानीयवासी तथा पालिकाले सम्मान प्रकट गरेका छन्।-0-


