काठमाडौं । अमेरिकाले भेनेजुएला तटनजिक आफ्नो हालसम्मकै सबैभन्दा ठूलो सैन्यशक्ति प्रदर्शन गरेको छ । अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनका सहयोगीलाई विदेशी आतंकवादी संगठनसँग सम्बन्धित व्यक्तिहरूको सूचीमा राख्न लागेका बेला यो कदम चालिएको हो ।
बिहीबार कम्तीमा ६ अमेरिकी सैन्य विमानले भेनेजुएला तटनजिक घण्टौँसम्म परिक्रमा गरेका थिए । तीमध्ये एक बी–५२ सामरिक बमवर्षक, एफ/ए–१८ई सुपरसोनिक लडाकु विमान थिए ।
अमेरिकी ‘दक्षिणी वायु सेना कमान्ड’ले यसलाई ‘बमवर्षक हमला प्रदर्शन’ भनेको छ । अवैध तस्करी र सम्भावित खतरा रोक्न गरिएको शक्ति प्रदर्शन भएको अमेरिकाको भनाइ छ ।
अमेरिकी विदेश विभागले केही दिनअघि ‘कार्टेल दे लोस सोल्स’लाई विदेशी आतंकवादी संगठन (एफटीओ)को सूचीमा राख्ने घोषणा गर्न लागिएको जनाएको छ ।
उक्त समूह मादुरो र भेनेजुएलाको सेना, गुप्तचर एजेन्सी तथा न्याय प्रणालीका शीर्ष अधिकारीहरूको नियन्त्रणमा रहेको अमेरिकाको आरोप छ । यो सञ्जालले हिंसात्मक आपराधिक समूहलाई सहयोग गर्ने गरेको अमेरिकाको जिकिर छ ।
सैद्धान्तिक रूपमा ‘आतंकवादी संगठन’को घोषणाले सिधा सैन्य कारबाहीको अनुमति दिँदैन । तर, ट्रम्प प्रशासनका धेरै वरिष्ठ अधिकारीहरू यसले सम्भावित सैन्य विकल्पको सम्भावना बढाउने मान्छन् । अमेरिकी रक्षामन्त्री पिट हेग्सेथले यसले राष्ट्रपतिलाई थप विकल्प दिने बताउँछन् ।
एफ/ए–१८ई लडाकु विमान अमेरिकी युद्धपोत यूएसएस जेराल्ड फोर्डबाट उडाइएको थियो । त्यो यसै हप्ता क्यारेबियन क्षेत्रमा पुगेको थियो ।
यस्तै, एक आरसी–१३५ ‘रिभेट जोइन्ट’ निगरानी विमानले भेनेजुएलाको पूर्वी सिमानानजिक बारम्बार उडान गरिरहेको देखिएको थिया ।
यद्यपि, तनाव बढिरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले चाँडै मादुरोसँग वार्ता गर्न सक्ने बताएका छन् । अमेरिकी विशेष दूत रिक ग्रेनेलको नेतृत्वमा यसअघि भएको वार्ता गएको महिना अचानक रोकिएको थियो । सोही समयमा अमेरिकाले उक्त क्षेत्रमा आफ्नो सैन्य उपस्थिति बढाएको थियो ।
अमेरिकाले एक महिनायता भेनेजुएलानजिकै क्रमशः उडान बढाएको छ । त्यसमा बी–५२ र बी–१ बमवर्षकसहितका धेरै लडाकु विमान समावेश छन् ।


