काठमाडौं । अत्यधिक प्रशोधित खानेकुरा मानव स्वास्थ्यका निम्ति खतरा बनेको भन्दै विज्ञले चेतावनी दिएका छन् । अन्तर्राष्ट्रिय विशेषज्ञले गरेको एक नयाँ अनुसन्धानमा अत्यधिक प्रशोधित खानेकुरा मानव स्वास्थ्यका निम्ति खतरापूर्ण रहेको र यसबाट जोगिन तत्काल प्रशोधन गरिएका खाना खान कम गर्नुपर्ने सुझाव दिइएको छ ।
उनीहरूका अनुसार, ताजा र स्वस्थकर खाद्यपदार्थको साटो सस्तो र अत्यधिक प्रशोधित खानातर्फको झुकावले मानिसमा मोटोपना र डिप्रेसनलगायत धेरै किसिमका दीर्घकालीन रोगहरूको जोखिम बढाइरहेको छ ।
लन्सेट जर्नलमा प्रकाशित लेखमा अनुसन्धानकर्ताले प्रशोधित खाद्य उत्पादनमा चेतावनी र अतिरिक्त कर लगाउन सरकारलाई सुझाव समेत दिएका छन् । साथै, यसबाट प्राप्त हुने आयलाई पौष्टिक खानाको पहुँचमा लगाउनुपर्ने उनीहरूको राय छ ।
केही वैज्ञानिकले भने अधिक प्रशोधित खानाले सिधै मानव स्वास्थ्यलाई नोक्सान पुर्याउँछ नै भन्ने प्रमाणित गर्न नसक्ने बताएका छन् । यसनिम्ति थप अनुसन्धान र परीक्षण आवश्यक रहेको उनीहरूको तर्क छ ।
अत्यधिक प्रशोधित खाना
अत्यधिक प्रशोधित खाना भन्नाले हाम्रो घरको भान्सामा पाइने पाँचभन्दा धेरै तत्व – जस्तै, इमल्सिफायर, प्रिजरभेटिभ, एडिटिभ, रङ र मिठास थप्ने पदार्थ भएका खाद्यपदार्थलाई बुझिन्छ । ससेज, क्रिस्प, पेस्ट्री, बिस्कुट, इन्स्टेन्ट सुप, कार्बोनेटेड पेयपदार्थ, आइसक्रिम र सुपरमार्केटमा पाइने पाउरोटी अत्यधिक प्रशोधित खानेकुरामा पर्छन् ।
यसमा चिनी र अस्वस्थकर बोसोको मात्रा बढी तथा फाइबर र प्रोटिन कम हुँदा समग्रमा खानाको गुणस्तरलाई नै थप खराब बनाइरहेको उनीहरूको दाबी छ ।
अनुसन्धानमा प्रशोधित खानेकुराले १२ किसिमका स्वास्थ्य समस्याको उच्च जोखिम औँल्याइएको थियो । त्यसमा टाइप–२ डायबिटिज, हृदयाघात, मिर्गौला रोग, डिप्रेसन र कुनै पनि कारणले छिटो मृत्यु हुनुपर्ने अवस्था समावेश छन् ।
ब्राजिलको साओ पाउलो विश्वविद्यालयका समीक्षक प्रोफेसर कार्लोस मोन्टेरोका अनुसार, अत्यधिक प्रशोधित खानाको बढ्दो खपतले मानिसको ताजा तथा न्यूनतम खानेकुरालाई प्रतिस्थापन गरिरहेको छ ।
उनले मानिसमा खानासम्बन्धी यो परिवर्तन शक्तिशाली बहुराष्ट्रिय कम्पनीले ल्याएको बताए । “बहुराष्ट्रिय कम्पनीहरूले अत्यधिक प्रशोधित उत्पादनलाई प्राथमिकता दिएर ठूलो मुनाफा कमाउँछन्,” उनले भनेका छन् ।
अत्यधिक प्रशोधित खानाले कसरी स्वास्थ्यलाई हानि पुर्याउँछ भन्ने विषयमा सटीक क्लिनिकल परीक्षणको कमीलाई स्वीकार गरिएको तर सम्भावित स्वास्थ्य जोखिमबाट विश्वभरका मानिसलाई जोगाउने कार्यमा ढिलाइ गर्न नहुनेमा जोड दिएको छ ।


