सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा बिहीबार लुम्बिनी लायन्सले पहिलो खेलमै उत्कृष्ट प्रदर्शन गर्दै चितवन राइनोजलाई पराजित गर्दै विजयी सुरुवात गरेको छ । गत सिजन एकमात्र जित प्राप्त गरेको लुम्बिनीले यसपटक धेरै परिवर्तनसहित मैदानमा उत्रँदै पहिलो खेलमै जित निकाल्दै बलियो सन्देश दिएको हो ।
गत सिजन पनि चितवनलाई नै हराएर प्रतियोगिता सकाएको लुम्बिनीले यसपटक त्यसै परिणामलाई दोहोर्याउँदै दमदार सुरुवात गर्यो । कप्तान रोहित पौडेलले ‘पहिलो जित जुनसुकै प्रतियोगितामा महत्वपूर्ण हुन्छ, आजको जित टिम एफर्ट हो’ भन्दै खेलाडीहरूको प्रदर्शनको प्रशंसा गरे ।
लुम्बिनीको जितमा विशेषगरी विदेशी खेलाडीहरूको भूमिकाले निर्णायक प्रभाव पारेको थियो । नामिबियाका रुबेन ट्रम्पलमनले शानदार बलिङ गर्दै ४ ओभरमा २३ रन मात्र दिँदै ३ विकेट लिए र ‘प्लेयर अफ द म्याच’ बने । उनले पहिलो बलमै इंग्ल्यान्डका स्टार डेविड मलानलाई गोल्डन डकमा आउट गरेका थिए । त्यस्तै १६औं ओभरमा कप्तान कुशल मल्ल र १९औं ओभरमा सेफ अली जैबलाई पभेलियन फर्काएका थिए ।
अर्कोतर्फ अफगानिस्तानका अलराउन्डर गुल्बादिन नाइबले बलिङमा २ विकेट लिनुका साथै ब्याटिङमा अविजित ४४ रन जोडेर टीमलाई सहज जित दिलाए । अन्तिम ओभरमा सेट ब्याटर रवि बोपारा र सोहेल तनविरलाई आउट गर्दै उनले चितवनको रन गति रोकिदिए ।
चितवनका लागि रवि बोपाराले ४५ बलमा ढिलो अर्धशतक बनाउँदै सर्वोच्च रन जोडे पनि अन्य खेलाडीले साथ नदिँदा टोली उच्च योगफल बनाउन असफल रह्यो । अम्पायरका केही निर्णय विवादास्पद भएको चर्चा भए पनि चितवनले महत्वपूर्ण क्षणमा विकेट गुमाउँदै खेलमै दबाब झेल्नुपर्यो ।
सन्दीप जोरा र डार्शी शर्टले राम्रो ओपनिङ गरेपछि नाइबको सम्हालिएको इनिङले लुम्बिनीको जित सुनिश्चित गर्यो । लेफ्ट–राइट कम्बिनेशन मिलाउन कप्तान पौडेलले जोरालाई ओपनिङमा पठाएको बताएका थिए ।
यस जितसँगै लुम्बिनी लायन्सले गत सिजनको कमजोर प्रदर्शन भुलेर यसपटक प्रतियोगितामा बलियो प्रतिस्पर्धीका रूपमा आफ्नो प्रारम्भिक दाबी प्रस्तुत गरेको छ ।


