काठमाडौं । ६० दिनपछि चन्द्रागिरि केबलकार तथा रिसोर्ट आज (शनिवार) बिहानदेखि पुनःसञ्चालनमा आएको छ। भदौ २४ गतेको घटनामा बटम स्टेशनमा भएको तोडफोडका कारण सेवा अवरुद्ध भएको थियो।
चन्द्रागिरि हिल्सले अष्ट्रियाली डोपलमेयर कम्पनीका उच्च प्राविधिक बोलाई आवश्यक मर्मत, सुरक्षा परीक्षण र थप निरीक्षण कार्य सम्पन्न गरी सेवा पुनः सुचारु गरेको हो।
सेवा खुलेसँगै भालेश्वर महादेव मन्दिर दर्शन गर्न भक्तजनलाई सहज हुने भएको छ भने पर्यटकहरूले रिसोर्टको आतिथ्य र अन्य सेवाहरू फेरि उपयोग गर्न सक्नेछन्। सेवा बन्द हुनु अघि दैनिक करिब २ हजारभन्दा बढी भक्तजन र पर्यटकले केबलकार सेवा लिँदै आएका थिए।
चन्द्रागिरि हिल्सका अध्यक्ष हेम राज ढकालले सेवा सुचारु गराउन खटिएका प्राविधिक टोलीको मेहनतको प्रशंसा गर्दै भक्तजन र पर्यटकको धैर्यताको धन्यवाद व्यक्त गरे। उनले काठमाडौँ उपत्यकाको मनोरम दृश्य र शान्त वातावरणको आनन्दका लागि सबैलाई चन्द्रागिरि आउने स्वागत गरेका छन्।
व्यवस्थापनले सेवा पुनः सञ्चालनमा साथ र सहयोग गरेको स्थानीय समुदायलाई पनि हार्दिक धन्यवाद व्यक्त गरेको छ।


