झापा महिला गोल्डकप : पुलिस फाइनलमा

बिर्तामोड । शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभीडी झापा महिला गोल्डकपअन्तर्गत भएको पहिलो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबले संकटा फुटबल क्लबलाई २–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ ।

खेलको सुरुआती मिनेटदेखि नै दुवै टिमबीच बराबरी प्रतिस्पर्धा देखिएको थियो । २४औँ मिनेटमा पुलिसले कर्नर किकबाट गोलको अवसर पाएको थियो । पूजा रानाले दिएको कर्नरमा आएको सटलाई संकटाकी गोलकिपर सुशीलाकुमारी चौधरीले उत्कृष्ट बचाउ गरेकी थिइन् ।

३०औँ मिनेटमा संकटाले उत्कृष्ट मौका गुमायो । भुटानी खेलाडी छिरिङ वाङग्देनले दिएको क्रसमा पूर्णिमा राईले डिबक्सभित्रबाट हेडर गर्न खोजे पनि सफल हुन सकिनन् । पहिलो हाफको इन्जुरी समयमा संकटाले अग्रता लिने मौका पाए पनि सेनुले दिएको क्रसमा छिरिङको सट गोलपोस्ट नजिकैबाट बाहिरिएको थियो ।

प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् । यस संस्करणको प्रतियोगितामा पहिलोपटक पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो ।

७०औँ मिनेटमा पुलिसले खेलमा अग्रता बनायो । करिब ३० यार्ड टाढाबाट पूजा रानाले दिएको फ्रिकिकमा मीना देउवाले सटिक हेड मार्दै गोल गरिन् । त्यसपछि ८२औँ मिनेटमा पुलिसले अग्रता दोब्बर बनायो । संकटाकी कप्तान यशोदा शाहीले बल क्लियर गर्न नसक्दा रेखा पौडेलले मौका सदुपयोग गर्दै दोस्रो गोल गरिन् ।

खेलको अन्तिम मिनेटमा फर्वाड सम्झना लावतीले वान–भर्सेस–वानको सुनौलो मौका गुमाइन् । इन्जुरी समयको अन्त्यतिर संकटाले सान्त्वना गोलको अवसर पाए पनि सेनुको सट गोलपोस्ट नजिकैबाट बाहिरियो ।

२–० को जितसँगै नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ भने संकटा क्लब प्रतियोगिताबाट बाहिरिएको छ । पुलिसले अब उपाधिका लागि फाइनलमा भोलि हुने एपीएफ र त्रिभुवन आर्मीबीचको विजेतासँग सामना गर्नेछ ।
प्रतियोगिताको विजेता टोलीले नगद १० लाख १० हजार रुपैयाँ, उपविजेताले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

सर्वोत्कृष्ट खेलाडीलाई एक लाख ५० हजार रुपैयाँ र उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक, उदीयमान खेलाडी र उच्च गोलकर्तालाई २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

हरेक खेलको ‘प्लेयर अफ द म्याच’लाई १५ हजार रुपैयाँ र ट्रफी प्रदान गरिने व्यवस्था गरिएको छ । प्रतियोगिताको फाइनल खेल कात्तिक २४ गते हुनेछ ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

थप समाचारहरू

ताजा समाचार