चीनको शक्ति प्रक्षेपणमा नयाँ फड्को, तेस्रो विमानवाहक जहाज ‘फुजियान’ सेवामा

काठमाडौं । चीनले आफ्नो तेस्रो विमानवाहक जहाज ‘फुजियान’लाई आधिकारिक रूपमा सेवामा ल्याएको छ । योसँगै विश्वमा सबैभन्दा धेरै विमानवाहक जहाज भएको देशको सूचीमा अमेरिकापछि चीन दोस्रो स्थानमा उक्लिएको छ । यद्यपि, अमेरिकासँग हाल ११ वटा विमानवाहक जहाज छन् ।

सरकारी समाचार एजेन्सी सिन्ह्वाले दिएको जानकारीअनुसार, यसै हप्ता राष्ट्रपति सी जिनपिङको उपस्थितिमा एक समारोहबीच ‘फुजियान’लाई औपचारिक रूपमा चिनियाँ नौसेनामा समावेश गरिएको हो ।

‘फुजियान’मा जडित इलेक्ट्रोम्याग्नेटिक क्याटापल्ट लन्चर चिनियाँ नौसेनाका लागि एउटा महत्त्वपूर्ण प्राविधिक फड्को मानिएको छ । यसले चीनलाई प्रशान्त महासागरको गहिराइसम्म आफ्नो शक्ति प्रक्षेपण गर्न सहयोग पुर्‍याउने बताइएको छ ।

विशेषगरी पूर्वी चीन सागर, ताइवान स्ट्रेट र दक्षिण चीन सागरका विवादित जलक्षेत्रहरूमा शक्ति प्रदर्शन गर्न चीनले यसलाई प्रयोग गर्ने अपेक्षा गरिएको छ । ‘फुजियान’ चीनको पहिलो पूर्णतया घरेलु डिजाइनमा निर्मित विमानवाहक जहाज हो ।

यसको पहिलो जहाज ‘लिओनिङ’ युक्रेनबाट खरिद गरिएको अपूरो सोभियत जहाजलाई परिमार्जन गरिएको थियो । दोस्रो जहाज ‘सानडोङ’ ‘लिओनिङ’को डिजाइनमा आधारित रहेर चीनमा निर्माण गरिएको थियो ।

तीनवटै जहाजको नाम चीनका तटीय प्रान्तहरूबाट राखिएको छ । ‘फुजियान’ चीनको पहिलो विमानवाहक हा,े जसमा क्याटापल्ट लन्च प्रणाली छ । यसको अर्थ यसले भारी र पूर्ण इन्धन भरिएका युद्धक विमानहरू उडाउन सक्छ ।

यसले जहाजलाई समुद्रमा धेरै टाढा रहेका लक्ष्यहरूविरुद्ध सञ्चालन गर्न मद्दत गर्छ, किनकि यसले खतरा पत्ता लगाउन जमिनमा आधारित जासुसी विमानमा भर पर्नुपर्दैन । यसका विमानहरूले थप हतियार र इन्धन बोक्न सक्छन्, जसले गर्दा तिनीहरूको पहुँच र फायरपावर बढ्ने बताइएको छ ।

यसअघिका ‘सानडोङ’ र ‘लिओनिङ’मा ‘स्की–जम्प’ डेक थियो, जसले हल्का भार भएका लडाकु जेटहरू मात्र उडाउन सक्थे । अमेरिकाको सबैभन्दा नयाँ विमानवाहक यूएसएस गेराल्ड आर. फोर्डपछि यो इलेक्ट्रोम्याग्नेटिक क्याटापल्ट प्रणाली भएको विश्वको दोस्रो जहाज हो ।

यो प्रणालीले जहाज र विमान दुवैमा कम तनाव दिन्छ, कम मर्मत सम्भार आवश्यक पर्छ र हलुका ड्रोनदेखि भारी विमानहरूसम्म विभिन्न प्रकारका विमानहरू प्रक्षेपण गर्न सक्छ ।

यसमा चीनको नयाँ जे–३५ स्टेल्थ फाइटर र जे–१५टी भारी फाइटर जस्ता विमानहरू समावेश छन् ।

समाचार स्रोत – बाह्रखरी/ एजेन्सी

SHARE:

प्रतिक्रिया दिनुहोस्

थप समाचारहरू

ताजा समाचार