काठमाडौं, कात्तिक १०। छठ पर्वको मुख्य दिन आज व्रतालुहरूले अस्ताउँदो सूर्यलाई विधिपूर्वक पूजा–अर्चना गर्दै अर्घ्य अर्पण गरेका छन्। बिहानै स्नान गरी दिनभर निर्जल व्रत बसेका व्रतालुहरूले साँझ बगँदा नदीनाला, पोखरी तथा जलाशयमा गई अस्ताउँदो सूर्य देवतालाई दुवै हातमा चालमको घोल, अक्षता, फुल र सिन्दूरसहित पालैपालो अर्घ्य दिएका हुन्।
३६ घण्टासम्म पानीसम्म नखाई बसिने यो कठोर व्रतमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठी माताको पूजा–आराधना गर्ने परम्परा रहिआएको छ। भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेसँगै छठ पर्व विधिवत् रूपमा समापन हुनेछ।
कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शनिबारदेखि सुरु भएको हो। धार्मिक ग्रन्थ महाभारत अनुसार द्रौपदीसहित पाँच पाण्डवले अज्ञातवास सफल होस् भनी सूर्यदेवको आराधना गरेको उल्लेख पाइन्छ, जसबाट यो पर्वको परम्परा सुरु भएको मानिन्छ।
त्यसैगरी सूर्य पुराण अनुसार अत्रिमुनिकी पत्नी अनुसूयाले सर्वप्रथम छठ व्रत गरी अटल सौभाग्य र पतिप्रेम प्राप्त गरेकी थिइन्, जसलाई यस पर्वको मूल उत्पत्तिसँग जोडिएको मानिन्छ।
सूर्यलाई जीवन र उर्जाको मूल स्रोत मानिने भएकाले यस पर्वमा सूर्यदेवको आराधनाद्वारा स्वास्थ्य, समृद्धि र पारिवारिक सुखको कामना गरिन्छ। साम्व पुराणमा कृष्णपुत्र साम्बले सूर्यको आराधनाद्वारा कुष्ठरोगमुक्त भएको उल्लेख पनि छ।
जनविश्वास अनुसार छठ व्रत गर्दा दुःख, दरिद्रता र रोगव्याधिबाट मुक्ति पाइन्छ। व्रत गर्न नसक्नेहरूले अरू व्रतालु मार्फत आफ्नो मनोकामना पूरा गराउने गर्छन्। आर्थिक अभाव भएका व्यक्तिहरूले समेत भिक्षा मागेरै भए पनि यो पर्व श्रद्धा र आस्थापूर्वक मनाउने परम्परा रहेको छ।


