काठमाडौं ७ कार्तिक २०८२ – ‘TOB कमाण्डर’का रूपमा चर्चित तेन्जिन दावा लामाको नेपाली नागरिकता फर्जी रहेको खुलेको छ। अष्ट्रेलिया जान तयारीमा रहेका बेला उनलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार उनले २०६३ सालमा नक्कली जन्मदर्ता प्रयोग गरी काठमाडौं महानगरपालिका–६ बाट नेपाली नागरिकता लिएका थिए। तर महानगरपालिकाले “उक्त सिफारिस आफूहरूले नगरेको” भन्दै आधिकारिक पत्रमार्फत स्पष्ट पारेको छ।
तेन्जिनले सोही फर्जी नागरिकताको आधारमा राष्ट्रिय परिचयपत्र (नागरिकता कार्ड) र राहदानी समेत बनाएका थिए। ती कागजात प्रयोग गरेर उनी हाल अष्ट्रेलिया जान तयारीमा थिए। यसै क्रममा प्रहरीले उनलाई पक्राउ गरेको हो।
अनुसन्धानका क्रममा उनले भनेका छन्, “मलाई सबैले तिब्बती भनेर उडाएपछि म नेपाली नै हो भनेर प्रमाणित गर्न टिकटक बनाएको थिएँ, तर त्यो नै मेरो आत्मघाती गल्ती बन्यो।”
प्रहरीले उनीविरुद्ध फर्जी नागरिकता, राहदानी र कागजात दुरुपयोगसम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको छ। प्रहरी स्रोतका अनुसार २५ दिनभित्र अदालतमा मुद्दा पेश गर्ने तयारी भइरहेको छ।
यस घटनाले विदेशी व्यक्तिहरूले घुस, जालसाजी र फर्जी कागजातमार्फत नेपाली नागरिकता लिने प्रवृत्ति पुनः सतहमा ल्याएको भन्दै सुरक्षा निकायका अधिकारीहरूले कठोर कानुनी कारबाहीको माग गरेका छन्।


