आउँदो निर्वाचनको तयारीका लागि

प्रधानमन्त्री सुशीला कार्कीद्वारा दलहरूसँग निर्वाचन केन्द्रित छलफल आज

काठमाडौं, कार्तिक ४— आउँदो निर्वाचनको तयारीका लागि प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख राजनीतिक दलहरूसँग छलफल गर्न लागेकी छन्। प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजेका लागि बोलाइएको यस छलफलमा संसदमा प्रतिनिधित्व गर्ने प्रमुख दलहरूलाई सहभागी हुन आग्रह गरिएको छ।

प्रधानमन्त्री कार्कीले निर्वाचनको सहज र सहमति आधारित वातावरण निर्माणका लागि दलहरूबीच संवाद आवश्यक रहेको भन्दै छलफलको पहल लिएकी हुन्।

छलफलमा **नेकपा (एमाले)**बाट महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली सहभागी हुने भएका छन्। नेपाली कांग्रेसबाट को-को सहभागी हुने भन्ने टुंगो अझै लाग्न बाँकी रहेको कांग्रेस प्रवक्ता प्रकाश शरण महतले जानकारी दिए। उनले भने, “प्रधानमन्त्रीज्यूले छलफलका लागि आह्वान गर्नुभएको छ। तर पार्टीबाट को जाने भन्ने टुंगो लागिसकेको छैन।”

**नेकपा (माओवादी केन्द्र)**का महासचिव देव गुरुङले भने छलफलबारे पार्टी कार्यालयमा अहिलेसम्म कुनै आधिकारिक जानकारी प्राप्त नभएको जनाए। “प्रधानमन्त्रीसँग छलफल छ भन्ने खबर त आएको हो तर आधिकारिक पत्र आएको छैन,” उनले नेपाल प्रेससँग भने।

यसैबीच, **राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)**बाट स्वर्णिम वाग्ले र सोविता गौतम सहभागी हुने जानकारी प्राप्त भएको छ। त्यस्तै, **राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)**बाट महामन्त्री राजेन्द्र गुरूङ र प्रवक्ता मोहन श्रेष्ठ छलफलमा सहभागी हुने भएका छन्।

यसअघि राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्री कार्कीले दलहरूबीच छलफल गराएकी थिइन्। आजको छलफलबाट निर्वाचन प्रक्रिया, मिति, सम्भावित कानुनी तथा प्राविधिक अड्चनका विषयमा बहस हुने अपेक्षा गरिएको छ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

थप समाचारहरू

ताजा समाचार