“जेनजी आन्दोलनको दुरूपयोग” को आरोप

बालेन शाह र सुदन गुरूङविरुद्ध चितवनमा जाहेरी,

बालेन शाह र सुदन गुरूङविरुद्ध चितवनमा जाहेरी, “जेनजी आन्दोलनको दुरूपयोग” को आरोप

चितवन, असोज ३० – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र ‘हामी नेपाल’ संस्थाका अध्यक्ष सुदन गुरूङविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दर्ता गरिएको छ।

नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल चितवनले उनीहरूविरुद्ध जेनजी आन्दोलनको नाममा निजी तथा सरकारी सम्पत्ति तोडफोड गर्न उक्साएको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएको हो।

संघका अनुसार, शाह र गुरूङले सामाजिक सञ्जालमार्फत जनमानसमा उत्तेजना फैलाउने, अराजक गतिविधिमा उक्साउने र कानुनी प्रक्रिया अवमूल्यन गर्ने किसिमका अभिव्यक्ति र क्रियाकलाप गर्दै आएको दाबी गरिएको छ।

जाहेरीमा भनिएको छ, “जेनजी आन्दोलनको नाममा सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउने, प्रशासनलाई असहज बनाउने तथा युवाहरूलाई हिंसात्मक बाटोमा लग्ने प्रयास भएको छ।” राष्ट्रिय युवा संघले यस्तो गतिविधि राज्यविरुद्धको कदम भएको बताउँदै कानुनी कारबाहीको माग गरेको छ।

उता, मेयर बालेन शाह र सुदन गुरूङले यस विषयमा हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन्।

जेनजी आन्दोलन पछिल्लो समय युवामाझ चर्चाको विषय बनेको छ, जसले भ्रष्टाचार, अनियमितता, संरचनागत अन्यायजस्ता विषयमा प्रश्न उठाउँदै आएको छ। तर यस आन्दोलनको शैली र प्रभावका विषयमा भने विभिन्न कोणबाट बहस भइरहेको छ।-0-

SHARE:

प्रतिक्रिया दिनुहोस्

थप समाचारहरू

ताजा समाचार