धादिङ — बेनीघाट रोराङ गाउँपालिका–९ मझिमटारमा तेस्रो अञ्जन स्मृति कप खुला नकआउट फुटबल प्रतियोगिता असोज २५ गतेदेखि सुरु हुने भएको छ। अञ्जन स्मृति प्रतिष्ठानको आयोजनामा हरेक वर्षझैं यसपालिको संस्करण मझिमटार खेलमैदानमा हुनेछ।
यसअघि असोज ४ गतेदेखि सुरु गर्ने भनिएको प्रतियोगिता तयारी र व्यवस्थापनका कारणले असोज २५ गतेबाट सुरु गर्ने निर्णय गरिएको आयोजकले जनाएको छ।
प्रतियोगितामा विजेता टोलीले नगद १ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। उपविजेताले ५० हजार रुपैयाँसहित सम्मान प्राप्त गर्नेछ। सेमिफाइनलमा पराजित हुने दुई टोलीलाई जनही १०–१० हजार रुपैयाँ दिइनेछ भने अनुशासित टोलीलाई ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।
त्यस्तै, प्रतियोगिताका उत्कृष्ट खेलाडी, गोलरक्षक र गोलकर्ताले जनही ५–५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
स्व. अञ्जन सिलवालको सम्झनामा आयोजना हुँदै आएको प्रतियोगिता स्थानीय स्तरमा एक महत्वपूर्ण खेल उत्सवको रूपमा स्थापित हुँदै आएको छ। ३४ वर्षीय सिलवाल तत्कालीन माओवादी केन्द्रका गाउँ कमिटी सचिव थिए। उनको चुम्लिङमा मोटरसाइकल दुर्घटनामा निधन भएपछि परिवार र साथीहरू मिलेर अञ्जन स्मृति प्रतिष्ठान स्थापना गरिएको थियो।
प्रतिष्ठानका अनुसार प्रतियोगिताले स्थानीय युवामा फुटबलप्रतिको रुचि अभिवृद्धि गर्ने, आपसी सद्भाव र एकता बलियो बनाउने, साथै मझिमटारलाई खेलकुद केन्द्रको रूपमा स्थापित गर्न योगदान दिँदै आएको छ।
प्रतियोगिता हेर्न र स्थानीय प्रतिभालाई हौसला दिन आयोजकले सम्पूर्ण खेलप्रेमीलाई उपस्थितिका लागि आग्रह गरेको छ।


