मिडिया ट्रायल र साइबर बुलिङ तत्काल बन्द गरियोस्’

डा. तोसिमा कार्कीको संस्थापन पक्षमाथि कडा आक्रोश, ‘मिडिया ट्रायल र साइबर बुलिङ तत्काल बन्द गरियोस्’

काठमाडौं, असोज १४ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ तथा पूर्वराज्यमन्त्री डा. तोसिमा कार्कीले पार्टीको संस्थापन पक्षमाथि तीव्र आक्रोश व्यक्त गरेकी छन्। एक विज्ञप्ति जारी गर्दै उनले आफूविरुद्ध मिडिया ट्रायल र साइबर बुलिङ भइरहेको दाबी गर्दै त्यसलाई तत्काल बन्द गर्न माग गरेकी हुन्।

डा. कार्कीका अनुसार उनले पार्टी सुदृढीकरणका लागि जिम्मेवार ढंगले केही विषयहरू उठाउँदा उल्टै संस्थापन पक्षबाट निरन्तर आक्रमणको सामना गर्नुपरेको छ। उनले पार्टीभित्र कहिले आफ्नो राजीनामाको अफवाह फैलाउने, त कहिले प्रस्तुत प्रस्तावलाई अतिरञ्जित गरी प्रचार गर्ने जस्ता कार्यमार्फत संस्थापन पक्षले भ्रम सिर्जना गरिरहेको आरोप लगाएकी छन्।

विज्ञप्तिमा डा. कार्कीले संस्थापन पक्षलाई खुला विशेष महाधिवेशन गर्न चुनौती दिएकी छन्। आफू लाखौँ कार्यकर्ता र शुभेच्छुकको विश्वाससहित पार्टीभित्र दिइएको जिम्मेवारी सम्हाल्न सक्षम रहेको दाबी गर्दै उनले नेतृत्वको आलोचना वा प्रश्न उठाउने स्वाभाविक अधिकारलाई दबाउने प्रयास नहोस् भन्ने चेतावनी पनि दिएकी छन्।

“प्रोपागाण्डा र हेपाहा प्रवृत्तिसँग डराउने अवस्थामा छैन,” डा. कार्कीले भनेकी छन्, “पार्टीभित्र चलिरहेको बुलिङ र प्रचारवाजीको भण्डाफोर गर्न बाध्य नपरोस्।”

उनको यो अभिव्यक्तिले रास्वपाभित्रको आन्तरिक असमझदारी र मतभेद थप चर्किएको संकेत मिलेको छ। यद्यपि, पार्टीको संस्थापन पक्षले यस विषयमा हालसम्म औपचारिक प्रतिक्रिया दिएको छैन।

SHARE:

प्रतिक्रिया दिनुहोस्

थप समाचारहरू

ताजा समाचार