वडा अध्यक्ष रानाभाटद्वारा १० हजार चल्ला वितरण

चितवन, १७ असार ।
भरतपुर महानगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष मनोज रानाभाटले आफ्नै पैसाले कुखुराका चल्ला वितरण गर्नुभएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वडामा रहेका न्यून आय भएका परिवारलाई प्रतिघर १० देखि २५ वटा चल्ला बाँड्नु भएको हो ।

रानाभाटकै रोयल पोल्ट्री ब्रिडिङ एण्ड कृषि फार्मको १५ औँ स्थापना दिवसको अवसर पारेर १० हजार गोटा चल्ला वितरण गरिएको उहांँले जानकारी दिनु भयो । ‘म एउटा व्यवसायी, किसान पनि हुंँ । मेरो फार्मबाट निकालिएको चल्ला वितरण गरेको हुंँ, आँपटारीका न्यून आय भएका परिवारलाई आयआर्जनका लागि दिएको हुंँ ।´ रानाभाटले भन्नुभयो ।

पहिलो चरणमा तीनवटा टोलका करिब ४०० बढी घरधुरीलाई बांँडिएको र आगामी दिनमा थप घरधुरीलाई बाँड्दै जाने उहांँले बताउनु भयो । विशेषगरी गृहिणी महिलाको दैनिकीलाई सहयोग पुगोस् भन्ने हेतुले चल्ला वितरण गरिएको रानाभाटको भनाई छ ।

स्थानीय वीरबहादुर तामाङले चल्ला पाएपछि आफू निकै खुशी भएको र यसले आफ्नो दैनिकीमा सहयोग पुग्ने बताउनु भयो । वडाअध्यक्षको कामको प्रशंसा गर्दै उहांँले आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गर्नुभयो । यसअघि पनि रानाभाटको नेतृत्वमा यस टोलमा राहत वितरण गरिएको थियो ।

चल्ला वितरण कार्यक्रममा वडा सदस्य, टोलसुधारका प्रतिनिधि, समाजसेवी, अगुवा लगायतका सहभागिता रहेको थियो ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

थप समाचारहरू

ताजा समाचार