चितवनमा दुई मोटरसाइकल ठोक्किँदा एक जना गम्भीर घाइते, एउटा मोटरसाइकलमा आगलागी

चितवन, कात्तिक १० । चितवनको भरतपुर महानगरपालिका–२३ स्थित कसरा चोक नजिकै सोमबार साँझ दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जना गम्भीर घाइते भएका छन् भने एउटा मोटरसाइकलमा आगलागी भएको छ।

सोमबार साँझ करिब ६ बजे जगतपुरबाट पटिहानीतर्फ आउँदै गरेको बा.प्र. ०३–००३ प ००९४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको प्र.३–०३–००१ प २००० नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन्।

दुर्घटनापछि बा.प्र. ०३–००३ प ००९४ नम्बरको मोटरसाइकलमा आगलागी हुँदा पूर्ण रूपमा क्षति पुगेको छ। उक्त मोटरसाइकलका चालक भरतपुर महानगरपालिका–१३ निवासी ४६ वर्षीय सागर पौडेल गम्भीर घाइते भएका छन्।

प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेका पौडेलको दुवै हात, खुट्टा र छातीसहित शरीरको करिब ३६ प्रतिशत भाग जलेको छ। तत्काल बोल्न सक्ने अवस्थामा रहेका पौडेलको अवस्था मध्यम रहेको जनाइएको छ। भरतपुरस्थित सरकारी अस्पतालमा प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि काठमाडौँको कीर्तिपुरस्थित बर्न अस्पतालमा रिफर गरिएको छ।

त्यस्तै, अर्को मोटरसाइकलका चालक भरतपुर–२२ निवासी १९ वर्षीय निसम बराल सामान्य घाइते भएका छन्। उनलाई उपचारका लागि स्थानीय मेडिकलमा पठाइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

थप समाचारहरू

ताजा समाचार