विशेषज्ञ चिकित्सकसहित सेवा दिने

दसैँ बिदामा पनि खुला रहने सिएमसी अस्पताल

चितवन। चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा पनि विशेषज्ञ चिकित्सकसहितको उपचार सेवा सञ्चालन गर्ने भएको छ। अस्पतालले कात्तिक २ गतेदेखि ५ गतेसम्म चार दिन आकस्मिक कक्षबाट सबै प्रकारका आवश्यक उपचार सेवा उपलब्ध गराउने जनाएको छ।

अस्पतालका निर्देशक प्रा. डा. गोपेन्द्र देवका अनुसार बडादसैँका अष्टमीदेखि एकादशीसम्म बिरामीले सहज रूपमा उपचार सेवा पाउन सकून् भन्ने उद्देश्यले अस्पताल सञ्चालन गर्न लागिएको हो। उक्त अवधिमा आकस्मिक सेवासँगै रेडियोलोजी, प्रयोगशाला तथा अन्तरङ्ग सेवा पनि नियमित सञ्चालन हुनेछन्।

डा. देवले दसैँका समयमा पनि अस्पतालले आफ्नो सेवालाई निरन्तरता दिने बताउँदै स्वास्थ्य समस्या देखिएमा अस्पताल आउन बिरामीलाई आग्रह गर्नुभयो। अस्पताल सकेसम्म सबै स्वस्थ रहून् भन्ने चाहना राख्ने भए पनि आकस्मिक स्वास्थ्य समस्या आइपरेमा उपचारका लागि तयार रहेको उहाँको भनाइ छ।

चाडपर्वका समयमा हुन सक्ने सडक दुर्घटना, हृदयाघात, खाना अपच तथा झाडापखालालगायतका स्वास्थ्य समस्यालाई ध्यानमा राख्दै विशेषज्ञ चिकित्सकसहित आकस्मिक कक्षबाट उपचार सेवा दिने व्यवस्था मिलाइएको अस्पतालले जनाएको छ।

त्यस्तै, अस्पतालका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले दसैँ बिदाका समयमा अस्पताल बन्द हुने आशङ्काले बिरामी अन्योलमा पर्न सक्ने भएकाले सेवा सञ्चालनबारे जानकारी गराइएको बताउनुभयो। अन्य कतिपय अस्पतालमा नियमित सेवा बन्द वा सीमित हुन सक्ने अवस्थामा बिरामीलाई उपचारमा असहज नहोस् भन्ने उद्देश्यले सिएमसीले आकस्मिक कक्षलाई थप चुस्त बनाएको उहाँले जानकारी दिनुभयो।

देवकोटाका अनुसार आकस्मिक कक्षमा थप डेस्क राखेर आकस्मिक उपचारसँगै ओपिडी सेवा लिनुपर्ने बिरामीलाई समेत आवश्यक सेवा उपलब्ध गराउने तयारी गरिएको छ। पुराना रोग भएका बिरामीलाई नियमित परामर्श आवश्यक पर्न सक्ने र आकस्मिक स्वास्थ्य समस्या जुनसुकै समयमा पनि देखिन सक्ने भएकाले अस्पतालले चाडपर्वमा समेत उपचार सेवालाई प्राथमिकता दिएको उहाँको भनाइ छ।

दसैँको बिदामा चितवन तथा आसपासका क्षेत्रका बिरामीलाई सहज र निरन्तर स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालले गरेको यो व्यवस्थाले चाडपर्वका समयमा आकस्मिक उपचार आवश्यक पर्ने बिरामीलाई राहत पुग्ने अपेक्षा गरिएको छ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

थप समाचारहरू

ताजा समाचार