काठमाडौँ, २१ असोज – पश्चिमी न्यून चापीय प्रणालीसँगै मनसुनी वायुको प्रभावका कारण देशका हिमाली तथा पहाडी भूभागमा बदली भएको छ । तराई क्षेत्रमा भने आंशिक बदली रहेको छ।
हाल कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा लुम्बिनी प्रदेशका केही स्थानमा चट्याङसहित मध्यम वर्षा भइरहेको छ ।
मौसम पूर्वानुमानअनुसार आज दिउँसो हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहनेछ । हिमाली भूभागका थोरै तथा पहाडी भूभागका केही स्थानमा चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेससहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा पनि चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा हुन सक्नेछ ।
लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई भूभाग तथा बागमती, गण्डकी र कर्णालीका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
आज राति कोशी प्रदेशका सबै भूभाग तथा देशका हिमाली र पहाडी क्षेत्रमा सामान्यतया बदली रहनेछ । तराई क्षेत्रमा आंशिक बदली रहने र बिहानको समयमा कुहिरो लाग्न सक्ने पूर्वानुमान छ ।
हिमाली भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ । कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका थोरै स्थान तथा कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ ।
मौसममा आएको परिवर्तनसँगै भारी वर्षा, चट्याङ, हावाहुरी र असिनाको सम्भावना भएका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।-0-


