कालिका–५ मा ट्याक्टर र बलेरो ठोक्किँदा एक महिलाको मृत्यु, १० जना घाइते

चितवन । चितवनको कालिका नगरपालिका–५ स्थित वडा कार्यालय चोकमा ट्याक्टर र बलेरो गाडी आपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।

सोमबार दिउँसो करिब १ः३५ बजे मचौली टोलबाट लंकालाईनतर्फ जाँदै गरेको ना ६ त ६४४४ नम्बरको ट्याक्टर र कामिनी घाटबाट बनकट्टातर्फ जाँदै गरेको बा.प्र.३–०१–०२४ च ३४७३ नम्बरको बलेरो आपसमा ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटनामा बलेरोमा सवार कालिका नगरपालिका–३ की ३५ वर्षीया लक्ष्मी परियार घाइते भएकी थिइन्। उनलाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर लगिएकोमा उपचारकै क्रममा दिउँसो २ः३९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा बलेरोमा सवार कालिका–३ की ५२ वर्षीया सावित्री माझी, २५ वर्षीया कविता परियार, ३५ वर्षीया सितामाया श्रेष्ठ, ४३ वर्षीया मैया कुमारी लोप्चन, २२ वर्षीया जुनी सुनार, २० वर्षीया उमा वाईवा, २० वर्षीया पवित्रा विक र ४२ वर्षीया लालकुमारी गुम्बा तथा कालिका–७ की २६ वर्षीया उमा श्रेष्ठ घाइते भएका छन्।

त्यस्तै, बलेरो चालक कालिका नगरपालिका–३ का ३९ वर्षीय कोमल बहादुर श्रेष्ठ पनि घाइते भएका छन्। घाइते सबैको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ। घाइतेमध्ये उमा वाईवाको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ।

घटनापछि प्रहरी टोलीले ट्याक्टर, ट्याक्टर चालक कालिका नगरपालिका–१ का ४२ वर्षीय विके श्याङ्वो तथा बलेरो नियन्त्रणमा लिएको छ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।-0-

SHARE:

प्रतिक्रिया दिनुहोस्

थप समाचारहरू

ताजा समाचार