६० बढी नेता–कार्यकर्ताले बदले दल

नेकपाका बागमती प्रदेश कमिटी सदस्य बद्रीनाथ घिमिरे रास्वपामा प्रवेश,

चितवन रत्ननगर, असोज १४ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बागमती प्रदेश कमिटी सदस्य एवं रत्ननगरका नेता बद्रीनाथ घिमिरे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। घिमिरेसँगै रत्ननगरमा विभिन्न राजनीतिक दलमा सक्रिय रहेका ६० भन्दा बढी नेता तथा कार्यकर्तासमेत रास्वपामा प्रवेश गरेका हुन्।

बुधबार रत्ननगरस्थित घण्टीघरमा आयोजित कार्यक्रममा रास्वपाका सहमहामन्त्री एवं चितवन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य हरि ढकाललगायतका नेताहरूले घिमिरेसहित नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गरेका थिए।

स्थानीय राजनीतिमा आफ्नो प्रभाव र जनाधार बनाएका घिमिरे २०७९ सालको स्थानीय तह निर्वाचनमा रत्ननगर नगरपालिकाको उपप्रमुख पदका उम्मेदवार थिए। तत्कालीन समयमा नेकपा (एकीकृत समाजवादी) बाट नेपाली कांग्रेससहितको सत्ता गठबन्धनका साझा उम्मेदवार बनेका घिमिरेले १२ हजार ३५४ मत प्राप्त गरेका थिए।

उक्त निर्वाचनमा नेकपा एमालेका उम्मेदवार यादवप्रसाद पाठकसँग पराजित भएका घिमिरेले उल्लेख्य मत प्राप्त गरेका थिए। त्यसयता स्थानीय राजनीतिमा सक्रिय रहँदै आएका उनी अहिले रास्वपामा प्रवेश गरेका हुन्।

घिमिरेसहित ६० भन्दा बढी नेता तथा कार्यकर्ताको पार्टी प्रवेशलाई रत्ननगरको राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ। स्थापित राजनीतिक दलका नेताहरू नयाँ दलतर्फ आकर्षित भइरहेका बेला भएको यो प्रवेशले रत्ननगरको आगामी राजनीतिक समीकरणमा कस्तो प्रभाव पार्छ भन्ने विषय चासोपूर्ण बनेको छ।-0-

 

SHARE:

प्रतिक्रिया दिनुहोस्

थप समाचारहरू

ताजा समाचार