चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ स्थित ५ किलोमा अविरल वर्षाका कारण पहिरो जाँदा एक स्थानीयको घर भासिएको छ ।
लगातारको वर्षाका कारण त्रिशूली नदीमा पानीको बहाव बढेसँगै नदीले सडक किनारतर्फ कटान तीव्र बनाएपछि सडक छेउमा रहेको स्थानीयको घर नियन्त्रणबाहिर गई भासिएको हो ।
नदी कटान र पहिरोका कारण उक्त क्षेत्रमा थप जोखिम बढेको छ । लगातार वर्षा भइरहेकाले सडक किनार तथा आसपासका घरहरूमा समेत जोखिम बढ्न सक्ने अवस्था देखिएको छ ।
नारायणगढ–मुग्लिन सडकखण्डमा वर्षाका कारण विभिन्न स्थानमा पहिरो तथा सडक कटानको जोखिम रहँदै आएको छ । स्थानीय प्रशासन तथा सम्बन्धित निकायले जोखिमयुक्त क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेका छन् ।-0-


