चितवनमा दुई महिनामै ४३ दुर्घटना, १५ जनाको मृत्यु

चितवन । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा चितवनमा ४३ वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा १५ जनाको मृत्यु भएको छ भने ८७ जना घाइते भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार साउनमा २३ वटा सवारी दुर्घटना हुँदा पाँच जनाको मृत्यु र ६० जना घाइते भएका थिए । भदौमा २० वटा दुर्घटना हुँदा १० जनाको मृत्यु र २७ जना घाइते भएका छन् ।

कार्यालयका निमित्त प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक विष्णु थापाका अनुसार सोही अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने तीन हजार ५५२ वटा सवारीसाधनलाई कारबाही गरिएको छ । कारबाहीबाट ३१ लाख ४८ हजार ५०२ रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

साउनमा एक हजार ८१० सवारीसाधन कारबाहीमा पर्दा १५ लाख ५१ हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो । भदौमा एक हजार ७४२ सवारीसाधनलाई कारबाही गर्दा १५ लाख ९७ हजार ५०१ रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।

गत आर्थिक वर्ष २०८२/८३ मा भने चितवनमा ५४५ वटा सवारी दुर्घटना भएका थिए । ती दुर्घटनामा १०५ जनाको मृत्यु र ९०२ जना घाइते भएका थिए । सो अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने २० हजार ८० वटा सवारीसाधनलाई कारबाही गरी एक करोड ७५ लाख ७७ हजार ५०३ रुपैयाँ राजस्व सङ्कलन गरिएको थियो ।

वरिष्ठ प्रहरी नायब निरीक्षक थापाले सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक जाँचलाई थप प्रभावकारी बनाउनुका साथै चालक तथा सर्वसाधारणलाई लक्षित गरी सचेतनामूलक कार्यक्रमलाई कडाइका साथ सञ्चालन गर्दै आएको बताए ।रासस

SHARE:

प्रतिक्रिया दिनुहोस्

थप समाचारहरू

ताजा समाचार