इच्छाकामना–३ का ४० घरमा पुग्यो सुरक्षित खानेपानी, ‘एक घर एक धारा’ योजना सम्पन्न

चितवन/ईच्छाकामना-  इच्छाकामना गाउँपालिका–३ अन्तर्गत सिरानगाउँ, माझगाउँ र स्वारा गाउँका ४० घरधुरीलाई लक्षित गरी निर्माण गरिएको सुरक्षित खानेपानी ‘एक घर एक धारा’ योजना सम्पन्न भएको छ ।

इच्छाकामना गाउँपालिका, वाइन टु वाटर र स्थानीय उपभोक्ताको लागत साझेदारीमा निर्माण गरिएको खानेपानी योजनाको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङ उद्घाटन गर्नुभएको हो ।

योजनाअन्तर्गत ४० घरधुरीमा सुरक्षित खानेपानीका लागि आवश्यक संरचना निर्माण गरी घरघरमा धारा जडान गरिएको छ । योजनाको कुल लागत रु. ३५ लाख २३ हजार ५४५ रहेको छ । कुल लागतमा वाइन टु वाटर संस्थाको ६५ प्रतिशत, इच्छाकामना गाउँपालिकाको २५ प्रतिशत र स्थानीय उपभोक्ताको १० प्रतिशत लागत साझेदारी रहेको जनाइएको छ ।

खानेपानी योजना उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष माया सिल्वाल, इच्छाकामना–३ का वडा अध्यक्ष नरबहादुर नेपाल, वडा नम्बर ४ का अध्यक्ष रुद्र उप्रेती, वडा नम्बर ५ का अध्यक्ष तेजबहादुर शेरचन, वाइन टु वाटर इच्छाकामना कार्यक्रम संयोजक रवीन चेपाङ, उपभोक्ता समितिका अध्यक्ष सिताराम गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

त्यस्तै साविक दारेचोकका पूर्वजनप्रतिनिधिहरू देवबहादुर गुरुङ र लीलबहादुर गुरुङसहित स्थानीय उपभोक्ताहरूको पनि कार्यक्रममा सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले खानेपानी योजना निर्माणपछि यसको संरक्षण र दिगोपनामा उपभोक्ताको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । खानेपानीको मुहानदेखि ट्यांकी तथा घरघरमा निर्माण गरिएका धारासम्मका संरचनाको उचित संरक्षण गर्न उहाँले स्थानीय उपभोक्तालाई आग्रह गर्नुभयो ।

अध्यक्ष गुरुङले गाउँपालिका, वाइन टु वाटर र स्थानीय उपभोक्ताको संयुक्त प्रयासबाट योजना सम्पन्न भएको उल्लेख गर्दै निर्माण भएका संरचनालाई दीर्घकालीन रूपमा उपयोग गर्न सबै पक्ष जिम्मेवार हुनुपर्ने बताउनुभयो ।

स्थानीयस्तरमा सुरक्षित खानेपानीको पहुँच विस्तार गर्ने उद्देश्यले सञ्चालन गरिएको यस योजनाबाट सिरानगाउँ, माझगाउँ र स्वारा गाउँका ४० घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् । खानेपानी योजना सम्पन्न भएपछि स्थानीय बासिन्दालाई सुरक्षित तथा सहज रूपमा खानेपानी प्राप्त गर्ने अवस्था बनेको छ ।

स्थानीय उपभोक्ताको सहभागिता र विभिन्न निकायको साझेदारीमा निर्माण भएको योजनाले गाउँका घरपरिवारलाई सुरक्षित खानेपानीको पहुँचसँगै खानेपानी संकलनका लागि टाढा जानुपर्ने बाध्यता समेत कम हुने अपेक्षा गरिएको छ ।-0-

SHARE:

प्रतिक्रिया दिनुहोस्

थप समाचारहरू

ताजा समाचार