चितवनबाट काठमाडौँ धमाधम पठाइँदै एलपी ग्यास, माग बढेपछि १४ घण्टा बोटलिङ

चितवन । काठमाडौँमा एलपी ग्यासको माग बढेपछि चितवनसहित विभिन्न जिल्लाका ग्यास उद्योगले उत्पादन बढाएर राजधानीतर्फ सिलिन्डर पठाउन थालेका छन्।

चितवन, नवलपरासी (बर्दघाट–सुस्तापूर्व), मकवानपुर, बारा, पर्सा र धनुषामा रहेका ग्यास उद्योगले दैनिक दुई सिफ्टमा करिब १४ घण्टासम्म बोटलिङको काम गरिरहेका छन्। उद्योगहरूले भरिएका सिलिन्डरमध्ये केही स्थानीय बजारमा पठाउने र बाँकी काठमाडौँ उपत्यकातर्फ पठाउने गरेका छन्।

नेपाल एलपी ग्यास उद्योग सङ्घका सदस्य विमल कालाखेतीका अनुसार चितवनका बाबा, साइबाबा, नेपाल ग्यास गण्डकी, नवलपरासीको जानकी तथा धनुषाको नेपाल ग्यास र नारायणी ग्यास उद्योगले दैनिक करिब १५ हजार सिलिन्डर बोटलिङ गरिरहेका छन्। ती प्लान्टमा रहेका २४ वटा बोटलिङ उपकरणबाट एक मिनेटमा २४ वटासम्म सिलिन्डर भर्ने क्षमता रहेको छ।

यसैगरी धनुषाको नोबेल, बाराका वान (एनएल), जगदम्बा, लियो र अम्बर ग्यास, पर्साका सुप्पर र मनोज, मकवानपुरको साहरा तथा नवलपरासीको चन्डेश्वरी ग्यासले पनि बोटलिङ गरी सिलिन्डर काठमाडौँ पठाइरहेका छन्। यी उद्योगहरूले दैनिक करिब १० हजार सिलिन्डर भर्ने गरेका छन्। त्यसमध्ये आधा स्थानीय बजारमा र बाँकी काठमाडौँ पठाउने गरिएको बताइएको छ।

कालाखेतीका अनुसार ग्यास बुलेट व्यवस्थापन गरी उद्योगसम्म ग्यास ल्याउने, बोटलिङ गर्ने र भरिएका सिलिन्डर बजारसम्म पुर्‍याउने सम्पूर्ण प्रक्रियामा उद्योगीहरू सक्रिय भएर लागिरहेका छन्।

सामान्य अवस्थामा काठमाडौँ उपत्यकामा दैनिक करिब ४० हजार सिलिन्डरको माग हुने गरे पनि अहिले माग बढेर करिब एक लाख पुगेको बताइएको छ। बुधबार मात्रै ५३ हजार ४६९ सिलिन्डर उपत्यकामा पठाइएको थियो। दैनिक पठाइने सिलिन्डरको सङ्ख्या भने माग र ढुवानीको अवस्थाअनुसार तलमाथि हुने गरेको छ।

चितवनमा भरिएका सिलिन्डर हेटौँडा हुँदै काठमाडौँ पठाइँदै छन्। तर साँघुरो सडक, सवारीसाधनको उच्च चाप र बेलाबेलामा खस्ने पहिरोका कारण ढुवानीमा समस्या भइरहेको व्यवसायीहरूले बताएका छन्।रासस्

SHARE:

प्रतिक्रिया दिनुहोस्

थप समाचारहरू

ताजा समाचार