चितवन प्रहरीको अद्यावधिक विवरण: बाढीमा ज्यान गुमाएका १४ जनाको मात्र पहिचान, डीएनए नमुना संकलन जारी

चितवन – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति भएको छ। बाढीले बगाएर त्रिशूली र नारायणी नदी हुँदै चितवनका विभिन्न भागमा पुर्‍याएका शवहरू फेला पर्ने क्रम जारी रहँदा हालसम्म कुल ३६२ वटा शव फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनले सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार फेला परेका शवहरूमध्ये अधिकांशको पहिचान हुन सकेको छैन। फेला परेका कुल ३६२ शवमध्ये ७१ महिला, १०७ पुरुष, १५ बालिका, ११ बालक र १२९ जना लिङ्ग समेत पहिचान हुन नसकेका अवस्थामा रहेका छन्।
३३३ शवको देवघाटमा व्यवस्थापन
पहिचान नभएका र लामो समयसम्म राख्दा सड्ने जोखिम रहेका ३३३ वटा शवलाई देवघाटस्थित जंगलमा जमिनमुनि व्यवस्थापन गरिएको छ। व्यवस्थापन गरिएका शवहरूमा ७३ महिला, १०७ पुरुष, १५ बालिका, ११ बालक र १२७ जना लिङ्ग नखुलेका शव रहेका छन्।
प्रशासनले पहिचान हुन नसकेका प्रत्येक शवको भविष्यमा पहिचान खुलाउन सहज होस् भन्ने उद्देश्यले डीएनए (DNA) नमुना संकलन गरी सुरक्षित राखेको छ। साथै, प्रत्येक शवलाई विशेष संकेत नम्बर (Code/Tag System) दिएर अभिलेख राखिएको छ। भविष्यमा दाबी गर्न आउने आफन्तको डीएनएसँग मिलान भएमा आवश्यक प्रक्रिया पूरा गरी शव उत्खनन गरेर परिवारको जिम्मा लगाउन सकिने व्यवस्था मिलाइएको छ।
हालसम्म फेला परेकामध्ये जम्मा १४ वटा शवको मात्रै पहिचान (सनाखत) हुन सकेको छ। सनाखत भएपछि आफन्तले बुझेका शवहरूमा २ महिला, ११ पुरुष र १ बालिका रहेका छन्। बाँकी शवहरूको पहिचानका लागि प्रहरीले सर्वसाधारणलाई सहयोग गर्न र नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ।
सुरक्षा निकायको संयुक्त खोजी टोली परिचालित
बाढीले बगाएर ल्याएका शवहरू अझै पनि नदी किनार तथा आसपासका क्षेत्रमा फेला पर्ने क्रम जारी छ। परिस्थिति नियन्त्रण र खोजी कार्यलाई तीव्र बनाउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली नदी तटीय क्षेत्रमा निरन्तर परिचालित भइरहेको छ। सुरक्षा निकायले खोजी, उद्धार र शव व्यवस्थापनको कामलाई प्राथमिकतातका साथ अगाडि बढाइरहेको जनाएको छ।-0-

#भोटेकोशीबाढी
#बाढीपिडीत
#प्रभावित

SHARE:

प्रतिक्रिया दिनुहोस्

थप समाचारहरू

ताजा समाचार