काठमाडौँ । बाढी र पहिरोका कारण सडक सञ्जाल अस्तव्यस्त बनेको रसुवामा पेट्रोलियम पदार्थ बोकेको गाडी बाटो खराब भएको कारण फर्किएको छ ।
जिल्लामा सञ्चालनमा रहेको एकमात्र गन्तव्य पेट्रोल पम्पका लागि नेपाल आयल निगमले पठाएको ६ हजार लिटर इन्धन बोकेको गाडी बाटोको खराब अवस्थाका कारण बिचबाटै फर्कन बाध्य भएको छ ।
नुवाकोट छिर्ने नाकासम्म पुगेको इन्धन बोकेको सवारी सडक बिग्रिएका कारण अगाडि बढ्न नसकेपछि फर्केर सूर्यमतीमा अनलोड गरिएको छ।
गन्तव्य पेट्रोल पम्पका अनुसार आज निगमबाट इन्धन बोकेको गाडी रसुवातर्फ पठाइएको भए पनि बाटोका कारण गन्तव्यसम्म पुग्न सकेन । ६ हजार लिटरको ट्याङ्कर तेल बोकेर गएको थियो । तर नुवाकोट छिर्ने नाकाबाटै बाटो खराब भएर गाडी अगाडि बढ्नै सकेन र फर्कियो हो ।
गाडी फर्काएर अहिले सूर्यमतीमै इन्धन बट्टाहरू अनलोड गरिएको छ। अब भोलि ट्र्याक्टरमार्फत ती इन्धनका बट्टाहरू रसुवातर्फ लैजाने तयारी भएको छ ।
नेपाल आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुरले पेट्रोलियम पदार्थ बोकेको ६ हजार लिटरको गाडी बाटो खराब भएकाले फर्किएको बताए ।


