जनप्रतिनिधि–कर्मचारीले पनि पारिश्रमिकबाट योगदान गर्ने

भोटेकोशी बाढीपीडितका लागि कालिका नगरपालिकाको ३५ लाख सहयोग

चितवन, भदौ १७ । प्राकृतिक विपद्का कारण सङ्कटमा परेका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउन चितवनको कालिका नगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ३५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

नगर प्रमुख विनोद रेग्मीको अध्यक्षतामा बसेको नगरस्तरीय विपद् व्यवस्थापन समितिको आकस्मिक बैठकले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो।

बैठकको निर्णयअनुसार जनप्रतिनिधि तथा कर्मचारीबाट २६ लाख रुपैयाँ र नगरपालिकाको विपद् कोषबाट ९ लाख रुपैयाँ गरी कुल ३५ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिनेछ।

विपद्को यस कठिन घडीमा प्रभावित नागरिकलाई सहयोग पुर्‍याउने उद्देश्यले नगरका जनप्रतिनिधि तथा कर्मचारीहरूले आफ्नो सेवा–सुविधा तथा पारिश्रमिकको अंश कट्टा गरी २६ लाख रुपैयाँ योगदान गर्ने भएका हुन्। यसले विपद्मा स्थानीय सरकारका जनप्रतिनिधि तथा कर्मचारीको समेत प्रत्यक्ष सहभागिता रहने सन्देश दिएको छ।

त्यसैगरी, नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट ९ लाख रुपैयाँ विनियोजन गरिने निर्णय भएको छ। जनप्रतिनिधि, कर्मचारी र नगरपालिकाको विपद् कोषबाट जुट्ने सम्पूर्ण रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा पठाइने नगरपालिकाले जनाएको छ।

कालिका नगरपालिका उपप्रमुख बिमला तामाङले भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई तत्काल राहत तथा सहयोग पुर्‍याउन नगरपालिकाको सम्पूर्ण संयन्त्र एकजुट भएर अघि बढिरहेको बताउनुभयो।

उहाँका अनुसार विपद्को समयमा पीडित नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउनु सबैको साझा दायित्व भएकाले नगरपालिकाले आफ्नो क्षमताअनुसार सहयोगको निर्णय गरेको हो। “विपद् प्रभावित नागरिकलाई तत्काल राहत पुर्‍याउन सम्पूर्ण नगर परिवार एकाकार भएर लागेको छ,” उपप्रमुख तामाङले भन्नुभयो।

भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण विभिन्न क्षेत्रमा जनधनको क्षति हुनुका साथै नागरिकहरू प्रभावित भएका छन्। बाढीपीडितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि विभिन्न स्थानीय तह, संघसंस्था तथा व्यक्तिहरूले सहयोग जुटाइरहेका बेला कालिका नगरपालिकाले पनि राहत कोषमा आर्थिक सहयोग गर्ने निर्णय गरेको हो।

नगरपालिकाले विपद्को समयमा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा आवश्यक समन्वय र सहयोगलाई निरन्तरता दिने जनाएको छ। साथै, विपद्बाट प्रभावित नागरिकको पीडामा मल्हम लगाउन सबै पक्षलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न समेत आग्रह गरेको छ।-0-

SHARE:

प्रतिक्रिया दिनुहोस्

थप समाचारहरू

ताजा समाचार