चितवन । रसुवा बाढीपछि त्रिशूली र नारायणी नदी किनारबाट सङ्कलन गरिएका पहिचान हुन नसकेका शवलाई अन्तर्राष्ट्रिय रेडक्रस समिति (आईसीआरसी) को मापदण्डअनुसार चितवनमा समाधिस्थ गर्ने तयारी गरिएको छ।
शव व्यवस्थापनका लागि भरतपुर महानगरपालिका–१ स्थित देवघाटको वन क्षेत्रमा खाल्डो खन्ने काम सुरु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार आईसीआरसीको मापदण्डअनुसार लामो खाल्डो तयार गरी शवहरूबीच करिब ४० सेन्टिमिटर दूरी कायम गरेर राखिनेछ।
शवलाई सुताएर राखिने र भविष्यमा पहिचान गर्न सहज होस् भनेर प्रत्येक शवसँगै तथा माथिल्लो भागमा छुट्टाछुट्टै सङ्केत चिन्ह राखिने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ।
रेडक्रस सोसाइटी चितवन शाखाका सभापति हरि पौडेलका अनुसार अन्तर्राष्ट्रिय मापदण्डले शवको पहिचान, अभिलेखीकरण र सम्मानजनक व्यवस्थापनलाई प्राथमिकता दिन्छ। तत्काल परिवारलाई जिम्मा लगाउन नसकिने शव सुरक्षित रूपमा समाधिस्थ गरिए पनि तिनको स्थान, तस्बिर, पहिचानसम्बन्धी विवरणलगायत आवश्यक अभिलेख सुरक्षित राखिनेछ।
हालसम्म चितवनमा २३३ वटा शव सङ्कलन गरिएकामा छ जनाको मात्रै सनाखत भएको छ। बाँकी शव भरतपुर अस्पताल तथा अस्थायी शवगृहमा राखिएका छन्। समय बित्दै जाँदा शव कुहिन थालेपछि स्वास्थ्य जोखिम बढ्न सक्ने भएकाले व्यवस्थापन प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
शवको भविष्यमा पहिचान गर्न सकिने सम्भावना जोगाउन सबै शवबाट डीएनए नमुना सङ्कलन गरिसकिएको छ। त्यसपछि मात्रै समाधिस्थ गर्ने प्रक्रिया अघि बढाइएको हो।
जिल्ला सुरक्षा समितिको शुक्रबार बसेको बैठकले अज्ञात शवलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार समाधिस्थ गर्ने निर्णय गरेपछि व्यवस्थापनको काम तीव्र पारिएको हो। रसुवामा आएको विनाशकारी बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनसम्म बगाएर ल्याइएका शवहरू नदी किनारबाट सङ्कलन गरिएका हुन्।-0-



